धनकुटा । जेन–जी आन्दोलनका समयमा झुम्का कारागारबाट फरार भएका विभिन्न मुद्दाका ८ जना कैदीबन्दीलाई धनकुटा प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक सरतकुमार थापा क्षेत्रीका अनुसार पक्राउ परेकाहरू कर्तव्य ज्यान, अंगभंग, जबर्जस्ती चोरी तथा लागुऔषध गाँजा मुद्दामा अदालतबाट सजाय तोकिएका कैदीबन्दी हुन्।
संखुवासभा खाँदवारी नगरपालिका–९ का ३० वर्षीय युवराज राईलाई साँगुरीगढी–६ भेडेटारचोकबाट पक्राउ गरिएको छ। उनी कर्तव्य ज्यान मुद्दामा १२ वर्ष ६ महिना कैद सजाय भोगिरहेका थिए।
त्यस्तै चौविसे–३ का ३४ वर्षीय सिजन तामाङलाई अंगभंग मुद्दामा ३० महिना कैद र २५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो। उनी घरबाटै पक्राउ परेका हुन्।
लागुऔषध गाँजा मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका सहिदभूमि–२ का २१ वर्षीय सुरेश शिवा, धनकुटा नगरपालिका–६ का २६ वर्षीय अनिल सहनी, सहिदभूमि–७ का संगम माझी र साँगुरीगढी–१ का ३३ वर्षीय बुद्धराज लिम्बुलाई पनि फरार अवस्थाबाट पक्राउ गरी पुनः कारागार चलान गरिएको प्रहरीले जनाएको छ। त्यसैगरी कर्तव्य ज्यान तथा जबर्जस्ती चोरी मुद्दामा २० वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना तोकिएका चौविसे–२ धारापानीका ४६ वर्षीय रमेश माङ्मी मगर तथा कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय पाएका सुनसरी धरान उपमहानगरपालिका–२० का ३२ वर्षीय सागर राईलाई पनि लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो।
प्रहरी प्रमुख एसपी थापा क्षेत्रीले फरार कैदीबन्दीको खोजतलास तीव्र पार्दै नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया पूरा गरी कारागार बुझाइएको जानकारी दिए।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।