लोड हुँदैछ...

मेनु

जेनजी आन्दोलनमा लुटिएको प्रहरीको गोलीसहित एक पक्राउ

जेनजी आन्दोलनमा लुटिएको प्रहरीको गोलीसहित एक पक्राउ

इटहरी । जेनजी आन्दोलनको नाममा सुनसरीको इटहरीमा प्रहरी कार्यालयमा आक्रमण गरि लुटिएको बन्दुकको गोलीसहित एक जना पक्राउ परेका छन् ।

आन्दोलनकै बेला प्रहरीबाट लुटिएका गोली फेला परेपछि सुरक्षा संयन्त्र थप सतर्क बनेको छ।

प्रहरीका अनुसार इटहरी–१० का टिकाराम श्रेष्ठलाई तीन राउण्ड गोलीसहित पक्राउ गरिएको छ । उनको साथबाट एसएलआर राइफलमा लाग्ने २ राउण्ड र थ्री नट थ्री राइफलमा लाग्ने १ राउण्ड गोली बरामद गरिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

जेनजी आन्दोलनका क्रममा प्रहरीको मोबाइल फोन चोरी भएको घटनाको अनुसन्धानका क्रममा श्रेष्ठको घरमा गरिएको खानतलासीमा चोरी भएको मोबाइल सेटसहित गोली फेला परेको हो । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सुवास हमालका अनुसार बरामद गोली आन्दोलनका क्रममा इटहरी प्रहरीले गुमाएको अर्थात् लुटिएको गोली भएको पुष्टि भइसकेको छ।

प्रहरीले पक्राउ परेका श्रेष्ठमाथि हातहतियार तथा खरखजना मुद्दाअन्तर्गत म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ। बरामद गोली कसरी उनको घरसम्म पुग्यो र यस घटनामा अन्य व्यक्ति संलग्न छन् वा छैनन् भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

यसैबीच, जेनजी आन्दोलनकै क्रममा इलाका प्रहरी कार्यालय इटहरीको थुनुवा कक्षबाट फरार भएका ३५ जनामध्ये हालसम्म २२ जना पक्राउ परेका छन् भने अझै १३ जना फरार छन् । बाँकी फरार व्यक्तिहरूको खोजी तीव्र बनाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।