जनकपुर । सप्तरीको राजविराजमा चुनाव प्रचारका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह विवादमा तानिएका छन् ।
सामाजिक सञ्जालमा भाइरल भइरहेको एक भिडियोमा उनले गाडीमै बसेर मधेस आन्दोलनका प्रणेता स्वर्गीय गजेन्द्रनारायण सिंहको शालिकतर्फ माला फ्याँकेको देखिएको छ ।
घटनापछि मधेस केन्द्रित राजनीतिक वृत्त र स्थानीय बासिन्दाहरूले यसलाई शालिकप्रति अपमान गरेको भन्दै आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमा उनको कार्यको चर्को आलोचना भइहरेको छ ।
गजेन्द्र चोक आउँदा उनले स्वर्गीय नेता गजेन्द्रनारायण सिंह (गजेन्द्र बाबु)को शालिकमा माला फ्याकेर हिँडेपछि नेता–कार्यकर्ता र समर्थक हेरेको–हेर्यै भएका थिए । गजेन्द्र बाबुको सालिकमा माल्यार्पण गरेर त्यसको छेउमै रहेको पार्टी कार्यालय पुग्ने कार्यक्रम रहेपनि बालेन्द्र गाडी नरोकी हिँडेका हुन् ।
घटनाबारे बालेन शाह वा रास्वपाको औपचारिक धारणा भने सार्वजनिक भइसकेको छैन। आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी बालेन मधेश प्रदेशमा घुमिरहेका छन् । नेता–कार्यकर्ता र समर्थक एकाबिहानैदेखि राजविराजमा पर्खिएर बसेको भएपनि उनी गाडीबाट ओर्लिएनन् ।
राजविराजकै एक होटलमा खाना खाइरहँदा पुनः फर्किएर पार्टी कार्यालय र गजेन्द्र बाबुको सालिकमा माल्यार्पण गर्ने ठानेर नेता–कार्यकर्ता र समर्थकहरु एक घण्टाभन्दा बढी त्यहाँ पर्खेका थिए । तर, खाना खाएर उनी हुलाकी सडक हुँदै पश्चिमतर्फ लाग्दा नेता–कार्यकर्ता र समर्थक निरास भएका थिए ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।