वीरगञ्ज । वीरगञ्ज महानगरपालिका १० आदर्शनगरमा रहेको एक गोदाममा सशस्त्र प्रहरी बल नेपाल र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले छापा मार्न पुग्दा प्रहरीमाथि नै आक्रमण भएको छ ।
राजस्व छलीको सूचनापछि छापा हान्दा व्यापारी र सुरक्षाकर्मीबीच झडप भएको हो । झडपमा तीनजना सशस्त्र प्रहरी कर्मचारी घाइते भएका छन् ।
सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा बल, वीरगञ्ज भन्सारमा कार्यरत सशस्त्र प्रहरी नायव उपरीक्षक विकास अधिकारीका अनुसार सशस्त्रसहितको टोली विशेष सूचनाका आधारमा आदर्शनगरमा प्रमोद कुमार कानुले सञ्चालन गरेको ‘बबिता इन्टरप्राइजेज’ को गोदाममा पुगेको थियो । टोलीले खानतलासी सुरु गर्नासाथ तस्कर समूह र स्थानीय व्यापारी आक्रमणमा उत्रिएका थिए ।
सशस्त्र प्रहरीमाथि ढुङ्गामुढा गरेपछि झडपको अवस्था सिर्जना भएको सशस्त्र प्रहरीले जनाएको छ । ढुङ्गा प्रहारका कारण सशस्त्र प्रहरीले प्रयोग गरेको गाडीको अगाडिको सिसा फुट्नुका साथै तीनजना सशस्त्र प्रहरी कर्मचारी सामान्य घाइते भएका छन् ।
सशस्त्र प्रहरी नं. १३ गण पर्साका अनुसार विहान १०ः३० बजे विशेष सूचनाको आधारमा आदर्शनगरस्थित मदनप्रसाद गुप्ताको घरमा अवैध रूपमा भन्सार छली लुकाईछिपाई राखिएको सामान छापामारी गर्न संयुक्त टोली परिचालन गरिएको थियो । एपीएफ सीमा सुरक्षा गुल्म मुख्यालय वीरगञ्जका डीएसपी विकास अधिकारीको कमाण्डमा १० जना, गण हे.क्वा. पर्साबाट इन्स्पेक्टर सापकोटाको कमाण्डमा ९ जना साथै वीरगञ्ज भन्सार कार्यालयका तथ्यांक अधिकृत भागीरथ रौनियारको कमाण्डमा २ जनाको संयुक्त टोली परिचालित थियो ।
तस्करीको सामान बरामद गरेर लोड गर्ने क्रममा स्थानीय २०–२५ जनाको समूहले अचानक ढुंगामुढासहित आक्रमण गरेपछि स्थिति तनावग्रस्त बनेको सशस्त्र प्रहरी बल मधेश प्रदेश कार्यालयले जनाएको छ । आक्रमणबाट सशस्त्र प्रहरी वरिष्ठ सिपाही महमद मुस्ताक अलीको बायाँ हातमा चोट लागेको र उनको मोबाइल लुटिएको छ । सशस्त्र प्रहरी हवल्दार जितेन्द्र प्रसाद सहनीको बायाँ गोडामा सामान्य चोट लागेको छ भने सशस्त्र प्रहरी सहायक हवल्दार जितेन्द्र पासवानको टाउकोमा सामान्य चोट लागेको छ ।
छापा मार्ने क्रममा सशस्त्र प्रहरीले गोदामबाट ५ पोका साडी, कुर्ता सुरुवाल लगायतका कपडाका सामग्री नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएको सामानको मूल्य करिब ५ लाख रुपैयाँ बराबर रहेको भएपनि सामानको विस्तृत विवरण र यकिन परिमाण भने हालसम्म सार्वजनिक गरिएको छैन ।
अहिले सामानको लगत संकलन गर्ने र मुचुल्का उठाउने काम भइरहेको छ । गोदाम कसको हो र सामान वैध हो वा होइन भन्ने विषयमा पनि थप अनुसन्धान जारी रहेको नायव उपरीक्षक अधिकारीले जानकारी दिए । घटनापछि उक्त क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।