लोड हुँदैछ...

मेनु

काठमाडौंमा योजना बनाएर ओखलढुङ्गामा वृद्ध दम्पत्ती हत्या गर्ने दुई पक्राउ

काठमाडौंमा योजना बनाएर ओखलढुङ्गामा वृद्ध दम्पत्ती हत्या गर्ने दुई पक्राउ

विराटनगर । ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका–६ बोहोरेमा वृद्ध दम्पत्तीको हत्या लुटपाटका लागि काठमाडौंमै योजना बनाएर गरिएको खुलेको छ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार गत माघ १२ गते ८१ वर्षीय चन्द्रबिक्रम राई र उनकी ८० वर्षीया श्रीमती चन्द्रमाया राईको हत्या पूर्वयोजनाअनुसार गरिएको हो।

अभियुक्तहरूले काठमाडौंमै योजना बनाएर ओखलढुङ्गा पुगेर लुटपाटपछि बृद्ध दम्पत्तीको हत्या गरेका थिए। माघ १२ गते राति करिब १० बजे राई आफ्नै घरको दोस्रो तलामा खाटमा सिरक ओढेर सुतेको अवस्थामा र उनकी श्रीमती खाटछेउ भुइँमा सिरक ओढेको अवस्थामा मृत भेटिएका थिए।

बुढाबुढी मात्रै बसोबास गर्दै आएका उनीहरूको घरमा बिहानसम्म ढोका नखुलेपछि छिमेकीले शंकास्पद अवस्था देखेर माघ १३ गते प्रहरीलाई खबर गरेका थिए। घटनापछि कोशी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको संयुक्त टोलीले अनुसन्धान सुरु गरेको थियो। थप गहिरो अनुसन्धानका लागि माघ २० गते सीआईबीबाट विज्ञ जनशक्ति परिचालन गरिएको थियो।

घटनास्थल तथा अन्य स्थानबाट संकलित प्रमाणका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा साविक भदौरे –४ हाल चिशंखुगढी गाउँपालिका–६ का ३४ वर्षीय धनबहादुर राना मगर र एक १७ वर्षीय बालक रहेका छन्। बालकको नाम ठेगाना प्रहरीले गोप्य राखेको छ। मगर र ती बालकले लुटपाट गर्ने उद्देश्यले काठमाडौंबाटै ओखलढुङ्गा गएर हत्या तथा लुटपाट गरेको खुलेको सीआईबीले जनाएको छ।

उनीहरूलाई गत शुक्रबार काठमाडौंको डल्लुस्थित लखतीर्थ मार्गमा रहेको आफ्नै डेराबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए। पक्राउ परेका अभियुक्तको डेराबाट मृतक चन्द्रमाया राईले प्रयोग गर्ने मोबाइल, पसलबाट लुटिएका एनटिसी र एनसेलका १५९ थान रिचार्ज कार्ड, सुन जस्तो देखिने पहेंलो धातुको माडवाडी, सिक्री, चार थान सि–माला तथा १२ हजार रुपैयाँ नगद बरामद गरिएको छ।

घटनास्थलबाट हत्या गर्न प्रयोग गरिएको कोदालो बरामद भएको छ। मृतक चन्द्र बिक्रम राईले प्रयोग गर्ने मोबाइल भने काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–४ पशुपतिटोलस्थित अभियुक्तका आफन्तको डेराबाट बरामद गरिएको सीआईबीले जनाएको छ।

अनुसन्धानका क्रममा अभियुक्तहरूले गाउँमा पहिचान हुने डरले रातको समयमा घटना घटाई फरक बाटो प्रयोग गरी भागेको, बस टिकट काट्दा वास्तविक नाम ढाँटेको र नाम परिवर्तन गरेको समेत खुलेको सिआइबीले जनाएको छ । घटनापछि बरामद दसी प्रमाणसहित अभियुक्तलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा पठाइएको छ।

यसअघि पनि ओखलढुङ्गामा श्रृंखलाबद्ध हत्या घटनाहरू भएपछि स्थानीयवासी त्रसित बनेका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।