लोड हुँदैछ...

मेनु

निर्वाचन लक्षित सुरक्षा : ७२ घण्टा अगावै नेपाल–भारत सीमा नाका बन्द गरिने

निर्वाचन लक्षित सुरक्षा : ७२ घण्टा अगावै नेपाल–भारत सीमा नाका बन्द गरिने

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सीमा नाका मतदानभन्दा ७२ घण्टा अगावै बन्द गरिने भएको छ। मोरङको विराटनगरमा माघ २३ गते सम्पन्न सशस्त्र प्रहरी बल नेपाल र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीचको १६औँ डिआईजी(स्तरीय समन्वय बैठकले यस्तो निर्णय गरेको हो।

सीमा सुरक्षालाई थप सुदृढ बनाउन र निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न दुवै देशका सुरक्षा अधिकारीहरू यो सहमतिमा पुगेका हुन्।

बैठकमा सीमा सुरक्षा सुदृढीकरण, सूचनाको आदान–प्रदान, र तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश नियन्त्रण गर्ने विषयमा विस्तृत छलफल भएको थियो। यस्तै, मानव बेचबिखन, नक्कली मुद्राको कारोबार, हातहतियार तथा लागुऔषध ओसारपसार जस्ता सीमापार अपराध नियन्त्रणमा दुवै पक्षले कडाइ गर्ने प्रतिबद्धता जनाएका छन्।

बैठकले सीमा स्तम्भहरूको संरक्षण, यात्रु सहजीकरण, संयुक्त गस्ती, विपद् उद्धार अभ्यास तथा आपसी खेलकुद गतिविधि सञ्चालन गर्ने विषयमा पनि सहमति जुटाएको छ। सीमा क्षेत्रका सम्भावित संवेदनशील नाकाहरू पहिचान गरी जोखिम मूल्याङ्कन गर्ने, शरणार्थी तथा आप्रवासी गतिविधिमाथि निगरानी बढाउने र आपराधिक घुसपैठ रोक्न विभिन्न स्थानमा चेकपोइन्ट तथा अवरोध (ब्यारियर) स्थापना गरिने बताइएको छ।

यसैगरी, सीमा क्षेत्रमा हुने मादक पदार्थको बिक्री वितरण र सेवन नियन्त्रणमा समेत विशेष कडाइ गरिने सहमति भएको छ।

बैठकलाई सम्बोधन गर्दै सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति डीआईजी कुमार न्यौपानेले नेपाल–भारत सीमा दुई देशबीचको रेखा मात्र नभई मित्रताको प्रतीक भएको उल्लेख गरे । भारतीय एसएसबीका डीआईजी सरोज कुमार ठाकुरले आगामी दिनमा सीमा सुरक्षालाई अझ मजबुत र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

समन्वय बैठकमा नेपालको तर्फबाट डीआईजीहरू अन्जनी कुमार पोख्रेल, दीपेन्द्र शाह, कृष्ण ढकाल र मनिष थापा सहभागी थिए भने भारतको तर्फबाट एसएसबीका डीआईजीहरू सरोज कुमार ठाकुर, मन्जीत सिंह, सुरेश सुब्रमण्यम, राजेश टिक्कु र मनिष कुमारको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।