विराटनगर । विस्फोटक पदार्थसम्बन्धी कसुर मुद्दामा पक्राउ परेका झापाको दमक नगरपालिका–१ का ४८ वर्षीय खगेन्द्र खरेल जेल चलान भएका छन् ।
झापा जिल्ला अदालतको माघ २१ गतेको आदेशअनुसार खरेललाई पुर्पक्षको लागि सुनसरीस्थित झुम्का कारागार चलान गरिएको झापा प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा रहेका खरेललाई बुधबार साँझ करिब ७ः५० बजे प्रहरी नायब निरीक्षक प्रकाश मेहताको कमाण्डमा खटिएको टोलीले कारागारतर्फ लगेको थियो। उनलाई राति करिब ९ः४५ बजे झुम्का कारागार बुझाइएको हो। प्रहरीका अनुसार खरेलमाथि विस्फोटक पदार्थसम्बन्धी कसुरमा थप अनुसन्धान जारी छ।
खरेल २०३४ वैशाख १७ गते ताप्लेजुङमा जन्मिएका हुन्। बाल्यकालमै बाबुआमासँग भारत पुगेका उनी असाममा अध्ययन गरेका थिए। सन् १९९७ मा भारतीय सेनामा भर्ती भएका खरेलले त्यहाँ बम निर्माण, हतियार सञ्चालन र विस्फोटक प्रयोगसम्बन्धी सीप सिकेको प्रहरीको दाबी छ।
जागिर छाडेपछि सन् २००८ मा नेपाल फर्किएका उनी दुबईमा वैदेशिक रोजगारीमा पनि गएका थिए। नेपाल फर्किएपछि ‘ग्रेटर नेपाल’ र ‘हिन्दु राष्ट्र नेपाल’ जस्ता अभियानमा सक्रिय रहेको प्रहरीको भनाइ छ।
प्रहरी अभिलेखअनुसार खरेल शृङ्खलाबद्ध बम आतङ्कका पटके अभियुक्त हुन्। यसअघि झापा र सुनसरीका विभिन्न घटनामा संलग्न भई उनी दुई पटक कारागार सजाय भोगिसकेका छन्। पछिल्लो पटक २०८१ असोज १४ गते कारागारबाट छुटेका खरेल तीन महिनामै पुनः आतङ्क फैलाएको आरोपमा मुछिएका छन्।
गत वर्ष सुनसरीको इटहरीमा नक्कली बम (होक्स) राखेर त्रास सिर्जना गरेको आरोपमा खरेलमाथि छ । सो घटनामा प्रहरीले इटहरी–४ की ३६ वर्षीया लक्ष्मीदेवी थापालाई पक्राउ गरेको थियो भने खरेल भारततर्फ फरार भएका थिए।
प्रहरीका अनुसार भारत पुगेपछि खरेलले ह्वाट्सएपमार्फत ३१ जिल्लामा बम राख्ने र संघीय संसद् भवनमा ड्रोन खसाल्ने धम्की दिएका थिए। त्यसै क्रममा उनले पुस १९ गते झापाको पूर्व–पश्चिम राजमार्गअन्तर्गत माई खोला पुल नजिक प्रेसर कुकर बम (होक्स) राखेर त्रास फैलाएको आरोप छ।
पटक–पटक आतङ्क सिर्जना गर्ने गतिविधिमा संलग्न देखिएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई पक्राउ गरी सुनसरी प्रहरीको जिम्मा लगाएको थियो। यसअघि पनि खरेल २०७८ चैत १४ गते इटहरी–२ को नवजागृति टोलमा सुतली बम बनाउने क्रममा भएको विस्फोट घटनामा संलग्न थिए। उक्त घटनामा दुई जना घाइते भएका थिए।
२०७९ जेठ २० गते कारागार चलान भएका खरेल २०८१ असोज १४ गते छुटेका थिए। २०७६ वैशाखमा झापाको कन्काई नदीको पुलमा बम राखिएको घटनामा पनि उनी संलग्न रहेको आरोपमा पक्राउ परेका थिए। प्रहरीका अनुसार खरेलले ‘हिमाल सुरक्षा परिषद्’ नामक समूहसमेत गठन गरेका थिए।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार फरार अवस्थाका अभियुक्त खरेललाई पुनः पक्राउ गरी अनुसन्धानपछि झुम्का कारागार नै पठाइएको हो।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।