धरान । भ्रष्टाचारविरोधी छविका साथ चर्चामा आएका धरान उपमहानगरपालिकाका निवर्तमान मेयर हर्कराज राई (साम्पाङ) ले सुनसरीको धरान खानेपानी व्यवस्थापन बोर्डमा २२ जना आफन्त तथा समर्थकलाई गैरकानुनी रुपमा जागिर खुवाएको पाइएको छ ।
नगर प्रमुख तथा खानेपानी बोर्डका अध्यक्षको हैसियतमा रहँदा साम्पाङले ठाडो आदेशमा कर्मचारी नियुक्ति गरी बोर्डमाथि ठूलो आर्थिक भार थपेको पाइएको छ ।
खानेपानी व्यवस्थापन बोर्डका निर्देशक राजु पोखरेलका अनुसार साम्पाङ मेयरमा निर्वाचित भएपछि २०७९ चैत १ गतेदेखि २०८२ साउन ७ गतेसम्म विभिन्न पदमा २२ कर्मचारी नियुक्त गरिएका छन् । उनीहरूलाई सहायककर्ता प्रमुख, कार्यालय सहयोगी, चौकीदार, माली, प्लम्बर, सुपरभाइजर र कम्प्युटर अपरेटरजस्ता पदमा नियुक्त गरिएको छ ।
नियुक्त कर्मचारीमध्ये मनकुमार राई र निर्मल थापा मगरले खरिदार स्केलअनुसार मासिक ३२ हजार ९०२ रुपैयाँ तलब बुझ्दै आएका छन् भने बाँकी २० जनाले कार्यालय सहयोगीस्तरको मासिक २४ हजार ७०२ रुपैयाँ तलब पाउँदै आएका छन्। यो नियुक्तिकै कारण धरान खानेपानी व्यवस्थापन बोर्डलाई मासिक ५ लाख ५९ हजार ८४४ रुपैयाँ बराबरको आर्थिक भार परेको छ । जुन वार्षिक हिसाबमा झन्डै १ करोड रुपैयाँ पुग्ने देखिन्छ।
सार्वजनिक सेवा क्षेत्रमा कर्मचारी नियुक्ति गर्दा खुला विज्ञापन आह्वान गरी प्रतिस्पर्धात्मक प्रक्रिया पूरा गर्नुपर्ने कानुनी व्यवस्था छ । तर, बोर्डमा त्यसको पालना नगरी साम्पाङको ठाडो निर्देशनमा नियुक्त गरिएको हो ।
नियुक्त गरिएका कर्मचारीहरूमा राजिन राई, लक्ष्मी आङ्बुहाङ लिम्बू, पुन्नकला राई, सीता राई, भावना थाम्सुहाङ, मदन राई, सिर्जना राई र कोपिला राई छन् । यस्तै, चन्द्रमा राई, गोपाल राई, देवी राई, मनकुमार राई, निर्मल थापा मगर, गिरिराज राई, ओमकुमार राई, सर्मिला राई, निरुजा राई, पूजा राई, नामासङ राई, रामनाथ राई, कल्पना राई र हीरादेवी राईले पनि जागिर खाएका छन् ।
सुशासन र पारदर्शिताको कुरा गर्ने साम्पाङले आफैँ बोर्डमा ठूलो तलब–भत्ता बोझ थपेको विषय बाहिर आएपछि उनको पारदर्शिता र सुशासनसम्बन्धी दाबीमाथि गम्भीर प्रश्न उठेको छ। हाल खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अईन्द्रबिक्रम बेघाले नियम र कानुन विपरीत नियुक्ति भएको पुष्टि भए त्यस्ता नियुक्ति खारेज गर्ने बताएका छन् ।
साम्पाङले धरान उपमहानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर सुनसरी क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका छन् । उनी श्रम संस्कृति पार्टीका अध्यक्षसमेत हुन्।





प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।