लोड हुँदैछ...

मेनु

मोरङमा एचपीभी खोप अभियान, झण्डै १३ हजार किशोरीलाई खोप दिइँदै

मोरङमा एचपीभी खोप अभियान, झण्डै १३ हजार किशोरीलाई खोप दिइँदै

विराटनगर । मोरङ जिल्लामा पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपीभी) खोप अभियान आगामी माघ २५ गतेदेखि सुरु हुने भएको छ। जिल्लाव्यापी रूपमा सञ्चालन हुने यस अभियानमार्फत १२ हजार ७ सय ५५ जना बालिकालाई खोप लगाउने लक्ष्य राखिएको छ।

स्वास्थ्य कार्यालय मोरङका अनुसार यो अभियानमा कक्षा ६ मा अध्ययनरत छात्राहरू र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका बालिकाहरूलाई समेटिने छ। ३ देखि ५ दिनसम्म चल्ने यस अभियानका लागि जिल्लाभर ८ सय २७ वटा खोप केन्द्रहरू तोकिएका छन्।

बुधबार विराटनगरमा आयोजित सञ्चारकर्मी तथा सरोकारवालासँगको अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य कार्यालय मोरङका प्रमुख योगराज घिमिरेले खोप अभियानको महत्त्वमाथि प्रकाश पारे। उनले भने, “एचपीभी खोप एउटा सामान्य कार्यक्रम मात्र नभएर हजारौँ बालिकाको भविष्य सुरक्षित गर्ने रणनीतिक लगानी हो। यो दीर्घकालीन सार्वजनिक स्वास्थ्य सुरक्षाको एउटा बलियो आधार हो।”

गत वर्ष विभिन्न कारणले खोप लगाउन छुटेका १० देखि १४ वर्षका बालिकाहरूलाई पनि यसपटक अनिवार्य रूपमा समेटिने घिमिरेले जानकारी दिए।
नेपालमा पाठेघरको मुखको क्यान्सर महिलाहरूमा देखिने एक गम्भीर समस्या हो, जसका कारण हरेक वर्ष १ हजारभन्दा बढी महिलाले ज्यान गुमाउने गरेका छन्। जनस्वास्थ्य अधिकृत उत्सव पोखरेलका अनुसार एचपीभी खोप पूर्ण रूपमा सुरक्षित र वैज्ञानिक रूपमा प्रमाणित छ।
“यौन सक्रिय हुनुअघि नै यो खोप लगाउँदा यसको प्रभावकारिता धेरै उच्च हुन्छ र भविष्यमा क्यान्सरको जोखिम न्यून हुन्छ,” पोखरेलले भने, “खोपले प्रजनन क्षमता वा स्वास्थ्यमा असर पार्छ भन्ने कुरा पूर्णतः निराधार र भ्रामक हुन्।”

अघिल्लो वर्ष कोशी प्रदेशको राजधानी विराटनगर लगायतका सहरी क्षेत्रमा सामाजिक सञ्जालमार्फत फैलिएको मिथ्या सूचनाका कारण अभियानमा केही चुनौती देखिएको थियो। त्यसैले यसपटक स्वास्थ्य कार्यालयले प्रत्यक्ष संवाद र तथ्यमा आधारित सचेतनालाई प्राथमिकता दिएको छ।

अभियानका लागि आवश्यक कोल्ड चेन व्यवस्थापन, तालिमप्राप्त जनशक्ति र आकस्मिक स्वास्थ्य व्यवस्थापनको तयारी पूरा भइसकेको छ। स्वास्थ्य प्रमुख घिमिरेका अनुसार खोप र खोपजन्य सामग्रीहरूको ढुवानी बिहीबारदेखि नै सम्बन्धित केन्द्रहरूमा सुरु गरिने छ।

जिल्लामा ३० वर्षमाथिका महिलाका लागि नियमित ‘भीआईए’ स्क्रिनिङ भइरहे पनि किशोरी उमेरमै खोप लगाउनु नै क्यान्सर रोकथामको सबैभन्दा प्रभावकारी उपाय भएको चिकित्सकहरूको ठहर छ। सरकारले आगामी वर्षदेखि यस खोपलाई नियमित राष्ट्रिय खोप कार्यक्रममै समावेश गर्ने तयारी समेत गरेको छ।

स्थानीय तह, विद्यालय, स्वास्थ्य स्वयंसेविका र अभिभावकहरूको सामूहिक प्रयासबाट यो अभियानलाई सफल बनाउन स्वास्थ्य कार्यालयले अपिल गरेको छ। विद्यालय बाहिर रहेका बालिकाहरूको पहिचानका लागि महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई विशेष रूपमा परिचालन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।