विराटनगर । राष्ट्रिय स्तन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालेन्द्र शाह (बालेन) आज सुनसरीको चतरा पुगेका छन्।
कोशी प्रदेशको भ्रमण र चुनावी अभियानका क्रममा चतरा पुगेका उनले सप्तकोशी नदीको बीचमा रहेको प्रसिद्ध धार्मिक तथा सांस्कृतिक ढुङ्गा ‘खुवालुङ’ को भ्रमण गरी यसको महत्वका बारेमा आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
चतरा भ्रमणलगत्तै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै बालेनले खुवालुङलाई केवल एउटा ढुङ्गाका रूपमा मात्र नभई नेपाली र किराँती सभ्यताको आधारस्तम्भका रूपमा चित्रण गरेका छन्।
उनले आफ्नो स्टाटसमा लेखेका छन्, ‘खुवालुङ सप्तकोशी क्षेत्रमा अवस्थित किराँती तथा नेपालीहरूका लागि एक अत्यन्त पवित्र स्थल हो। मुन्धुममा यसलाई सभ्यताको द्वार मानिन्छ।’
उनले खुवालुङको सांस्कृतिक गहिराइलाई व्याख्या गर्दै थप लेखेका छन्, ‘मुन्धुम पाठ र जीवनचक्र संस्कारहरूमा यसको अनिवार्य स्मरण हुने भएकाले यो हाम्रो जीवित सांस्कृतिक–आध्यात्मिक परम्पराको जीवन्त प्रतीक हो। यसले किराँती सभ्यता, आदिवासी पहिचान र मानव–प्रकृतिबीचको अटुट सम्बन्धलाई झल्काउँदै हाम्रो इतिहास, धर्म र संस्कृतिको सामूहिक प्रतिनिधित्व गर्दछ।’
पछिल्लो समय जल यातायातका नाममा खुवालुङलाई फुटाउने वा स्थानान्तरण गर्ने चर्चा चलिरहँदा बालेनको यो भ्रमण र टिप्पणीलाई अर्थपूर्ण रूपमा हेरिएको छ। उनले सम्पदा र विकासबीच सन्तुलन हुनुपर्ने र पहिचानका धरोहरहरूलाई मास्न नहुने संकेत गरेका छन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।