विर्तामोड । झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट यति एयरलायन्सको उडान नं ९२६ मार्फत काठमाडौँ जान लागेकी हुम्लाकी एक युवती खैरो हेरोइनसहित पक्राउ परेकी छन् ।
हुम्लाको खार्पुनाथ गाउँपालिका–२ की २६ वर्षीया रोशनी बुढालाई विमानस्थल सुरक्षा गार्डमा खटिएको प्रहरी टोलीले सोमबार साँझ चेकजाँचका क्रममा पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार बुढाले सुरुवालको दुवै गोजीमा १४४ ग्राम ४०० मिलिग्राम खैरो हेरोइन लुकाएर राखेको अवस्थामा बरामद गरिएको हो। प्रहरीका अनुसार रोशनी बुढा भारतको कोलकातास्थित एक जापानिज रेस्टुरेन्टमा विगत दुई वर्षदेखि वेटरका रूपमा कार्यरत थिइन्। उनी काठमाडौँतर्फ उड्नुअघि गरिएको नियमित सुरक्षाजाँचका क्रममा लागूऔषधसहित पक्राउ परेकी हुन्।
पक्राउ परेकी बुढालाई हाल जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक बयानका आधारमा लागूऔषध कारोबारमा संलग्न थप दुई व्यक्तिलाई काठमाडौँबाट पक्राउ गरिएको सूचना अधिकारी खड्काले जानकारी दिए।
काठमाडौँस्थित लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिका–६ का ३० वर्षीय सन्तोष बञ्जारा र रामेछापको दोरम्बा गाउँपालिका–५ का २१ वर्षीय थोर्मस तामाङलाई सोही लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा पक्राउ गरेको जनाएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको र लागूऔषध कारोबारमा संलग्न गिरोहको जालो पत्ता लगाउने काम भइरहेको प्रहरीले बताएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।