विराटनगर । आफ्नै भवन क्षतिग्रस्त भएपछि अलपत्र परेको कोसी प्रदेशसभा अब विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको विरेन्द्र सभागृहमा सञ्चालन हुने भएको छ ।
सभागृह प्रयोगका लागि आइतबार प्रदेशसभा सचिवालय र महानगरपालिकाबीच ६ महिनाका लागि औपचारिक सम्झौता भएको हो ।
सम्झौताअनुसार सचिवालयले महानगरलाई मासिक ८ लाख रुपैयाँ (बहाल करसहित) भाडा बुझाउनेछ । माघ १८ देखि आगामी साउन १७ गतेसम्मका लागि गरिएको सम्झौता पत्रमा सचिवालयका सचिव सुदर्शन खड्का र महानगरका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रप्रसाद दुलालले हस्ताक्षर गरेका छन् । विद्युत् र खानेपानीको महसुल पनि सचिवालयले नै व्यहोर्नुपर्ने सम्झौतामा उल्लेख छ ।
गत २४ भदौमा ‘जेन–जी’ आन्दोलनका क्रममा देवकोटा चोकस्थित आफ्नै भवनमा व्यापक तोडफोड र क्षति भएपछि प्रदेशसभाको बैठक सञ्चालनमा अन्योल देखिएको थियो । प्रदेश मन्त्रिपरिषद्को गत १५ माघको बैठकले आगामी २५ माघ दिउँसो २ बजेका लागि हिउँदे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरिसकेको छ । अधिवेशन आह्वान गर्ने निर्णय भएको तीन दिनपछि मात्र सरकारले भवनका लागि महानगरसँग औपचारिक सम्झौता गरेको हो ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।