विराटनगर । नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिको पाँचौं वार्षिक सम्पन्न भएको छ।
परिसंघ कोशी प्रदेश समितिका अध्यक्ष पवनकुमार सारडाको अध्यक्षतामा सम्पन्न साधारणसभाले संस्थाको वार्षिक कार्यक्रम, योजना तथा कार्यप्रगति प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ।
साधारणसभाले कोषाध्यक्ष साकेत राठीले प्रस्तुत गरेको आर्थिक प्रगति प्रतिवेदनसमेत अनुमोदन गरेको परिसंघले जनाएको छ । साधारणसभामा केन्द्रीय गभर्निङ काउन्सिल सदस्य बासुदेव गोल्यानले कोशी प्रदेश समितिले पूर्वका उद्योगी व्यवसायीको हकहितमा उदाहरणीय काम गर्दै आएको उल्लेख गरे ।
अध्यक्ष सारडाले स्वागत तथा सम्बोधनका क्रममा उद्योगी व्यवसायीमाथि बिना कारण विभिन्न आक्षेप लाग्ने गरेको गुनासो गरे। उनले राज्यले उद्योगी व्यवसायीको सुरक्षा गर्न नसकेको, तस्करी नियन्त्रण प्रभावकारी हुन नसकेको भन्दै सम्बन्धित सुरक्षा निकायको ध्यानाकर्षण गराए।
नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक विनोद घिमिरे, सुनसरी अध्यक्ष अनिल अग्रवाललगायत परिसंघ कोशीका पदाधिकारी तथा सदस्यहरूको साधारणसभामा उपस्थिति रहेको थियो। सोही अवसरमा परिसंघको तर्फबाट कोशी प्रदेश प्रहरी प्रमुख डिआईजी विनोद घिमिरेलाई स्वागत तथा सम्मान गरिएको थियो।
डिआईजी घिमिरेले उद्योगी व्यवसायीहरू अर्थतन्त्रका मेरुदण्ड भएको उल्लेख गर्दै देशको आय वृद्धि र आर्थिक सुदृढीकरणमा उनीहरूको भूमिका महत्वपूर्ण रहेको बताए। औद्योगिक सुरक्षाका लागि नेपाल प्रहरी सधैं सहयोगी रहने प्रतिबद्धता जनाउँदै उनले चुनौतीपूर्ण परिस्थितिमा पनि अन्ततः कानुनकै राज हुने बताए ।
साधारणसभामा आगामी आर्थिक वर्ष २०८३–८४ को बजेटसम्बन्धी सुझाव उद्योगी व्यवसायीबाट संकलन गरिएको थियो । संकलित सुझावहरू नेपाल उद्योग परिसंघ केन्द्रीय समितिमा पठाइने जनाइएको छ।
सुझावमा विभिन्न स्थानमा राजनीतिक आडमा अवैध रूपमा कवाडी कर उठाउने प्रवृत्ति, मूल्य अभिवृद्धि कर, भन्सार दर तथा सरकारी खर्च प्रणालीमा सुधार आवश्यक रहेको विषय समेटिएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।