उदयपुर । उदयपुर र दक्षिणी खोटाङ जिल्लालाई छोटो दूरीमा सिधा सडक सञ्जालमार्फत जोड्ने उद्देश्यले सुनकोशी नदीको बंशिलाघाटमा निर्माणाधीन मोटरेबल पक्की पुलको काम चरम सुस्त गतिमा छ। निर्माण सुरु भएको करिब पाँच वर्ष बितिसक्दा पनि पुलको भौतिक प्रगति जम्मा ११ प्रतिशतमा सीमित रहेको छ।
पुल निर्माण सम्पन्न भए दक्षिणी खोटाङ र उदयपुरबीचको दूरी उल्लेख्य रूपमा छोटिने अपेक्षा स्थानीयले गरेका थिए। घुमाउरो र जोखिमपूर्ण बाटो हुँदै यात्रा गर्न बाध्य स्थानीयवासीले सहज आवतजावतसँगै व्यापार–व्यवसाय विस्तार हुने आशा राखेका थिए। तर, लामो समयसम्म काम अघि नबढ्दा बहुप्रतीक्षित आयोजना कागज र शिलान्यासमै सीमित भएको अनुभूति हुन थालेको स्थानीयको गुनासो छ।
२०७९ साल पुस १ गते तत्कालीन परराष्ट्रमन्त्री डा. नारायण खड्काले सुनकोशी नदी किनारमा पुलको शिलान्यास गरेका थिए। स्थानीय जनप्रतिनिधि, सरकारी अधिकारी र सर्वसाधारणको उपस्थितिमा आयोजना सुरु हुँदा खोटाङ र उदयपुरका बासिन्दाले विकासको ढोका खुल्ने विश्वास गरेका थिए।
पुल सेक्टर धरानका अनुसार पुलको लम्बाइ १५० मिटर र चौडाइ ११ मिटर रहनेछ। पुलमा चार वटा पिलर र तीन वटा स्पान रहनेछन्। भ्याटसहित करिब १९ करोड १८ लाख ४१ हजार रुपैयाँ लागतमा ‘डिजाइन एन्ड बिल्ड’ प्रविधिबाट निर्माण सम्पन्न गर्ने गरी कालिका–भेदान्सी जेभी, बालुवाटार काठमाडौँले ठेक्का लिएको हो।
सम्झौताअनुसार २०७७ साल पुस २८ गतेदेखि ३३ महिनाभित्र पुल निर्माण सम्पन्न गर्नुपर्ने थियो। तर तोकिएको म्याद सकिँदासमेत कामको गति अत्यन्तै सुस्त देखिएको छ, जसका कारण आयोजना सम्पन्न हुने विषयमा स्थानीयमा थप चिन्ता बढ्दै गएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।