लोड हुँदैछ...

मेनु

स्विस सहयोगका कार्यक्रमलाई द्रुत गतिमा अगाडि बढाउन निर्देशन

स्विस सहयोगका कार्यक्रमलाई द्रुत गतिमा अगाडि बढाउन निर्देशन

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्विस सरकारको सहयोगमा सञ्चालित कार्यक्रमहरूलाई छिटो र छरितो ढंगले सम्पन्न गर्न कामलाई द्रुत गतिमा अगाडि बढाउनु पर्ने बताएका छन् ।

विराटनगरमा आयोजित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी सहयोग कार्यक्रम निर्देशक समितिको बैठकलाई सम्बोधन गर्दै उनले कार्यविधि र अन्य प्रक्रियाहरू छिटो टुंग्याएर काममा गति दिन निर्देशन दिएका हुन् ।

बैठकमा स्विस सरकार विकास सहयोग कार्यक्रम अन्तर्गत हाल भइरहेका गतिविधिहरूको समीक्षा र प्रगतिबारे छलफल भएको थियो। मुख्यमन्त्री कार्कीले सुशासन र असल अभ्यासलाई जोड दिएर परिणाममुखी काम गर्नुपर्नेमा जोड दिए । नेपाल र स्विट्जरल्याण्डबीचको सात दशक लामो कुटनीतिक सम्बन्धको चर्चा गर्दै उनले नेपालको विकासमा स्विस सरकारले पुर्‍याउँदै आएको सहयोग प्रशंसनीय रहेको बताए ।

यस कार्यक्रम अन्तर्गत प्रदेशमा संघीयता कार्यान्वयन, सुशासन प्रवर्द्धन र कानुन निर्माणमा महत्त्वपूर्ण सहयोग पुग्दै आएको बैठकमा जानकारी दिइयो । कार्यक्रमकै सहयोगमा करिब ८ करोड रुपैयाँ बराबरको कम्प्युटर, प्रिन्टर लगायतका प्राविधिक सामग्रीहरू विभिन्न स्थानीय तहलाई हस्तान्तरण गरिएको छ। जेन्जी आन्दोलनपछि वडा कार्यालयहरूको कार्यसम्पादन र सञ्चालनलाई व्यवस्थित बनाउन यी सामग्रीले ठूलो मद्दत पुगेको समीक्षा गरिएको छ ।

बैठकले आगामी दिनमा सञ्चालन गरिने नयाँ कार्यक्रमहरूका बारेमा समेत छलफल गरेको छ। कार्यक्रमलाई तोकिएकै समयमा प्रभावकारी रूपमा सम्पन्न गर्न प्रशासनिक झन्झटहरू हटाउँदै अगाडि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।