लोड हुँदैछ...

मेनु

एमाले त्यागेका रामप्रसाद चौलागाईँ श्रम संस्कृति पार्टीमा प्रवेश

एमाले त्यागेका रामप्रसाद चौलागाईँ श्रम संस्कृति पार्टीमा प्रवेश

इटहरी । नेकपा एमाले सुनसरीका पूर्वनेता रामप्रसाद चौलागाईँ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्।

एमालेसँग लामो समयदेखि असन्तुष्ट रहँदै आएका चौलागाईँले दुई महिनाअघि पार्टी परित्यागको घोषणा गरेका थिए।

बुधबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईको हातबाट पार्टी सदस्यता, टि–सर्ट र ब्याच ग्रहण गरी पार्टीमा आबद्ध भएको बताएका छन्। फेसबुकमा उनले लेखेका छन्, ‘आज श्रम संस्कृति पार्टीका आदरणीय अध्यक्ष माननीय हर्कराज राई (हर्क साम्पाङं)सँग आत्मीय भेटघाट भयो। उहाँकै हातबाट पार्टी सदस्यता, टि–सर्ट र ब्याचसमेत ग्रहण गरी श्रमदाता बनियो। उहाँको देश निर्माणको अभियानमा जोडिन पाएकोमा गौरवान्वित छु। यो पुण्य र गौरवपूर्ण अभियानमा अविलम्ब जोडिनुहुन सबैमा हार्दिक अनुरोध छ।’

चौलागाईँ इटहरीका पुराना एमाले नेता हुन्। उनी इटहरी खानेपानी संस्थाको अध्यक्षका रूपमा तीन कार्यकाल गरी करिब १९ वर्ष नेतृत्वमा रहे। २०७४ र २०७९ सालको स्थानीय तह निर्वाचनमा उनी इटहरी उपमहानगरपालिकाको मेयर पदका प्रमुख दाबेदारका रूपमा हेरिएका थिए। तर, दुवै निर्वाचनमा एमालेले टिकट नदिएपछि उनी पार्टीसँग असन्तुष्ट थिए।

लामो समयदेखि मेयरको आकांक्षा राख्दै आएका चौलागाईँले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै श्रम संस्कृति पार्टी रोजेको बुझिएको छ। उनी इटहरी उपमहानगरपालिकाको मेयर पदको आकांक्षासहित नयाँ राजनीतिक यात्रामा लागेका हुन्।

पार्टी प्रवेशका क्रममा अध्यक्ष हर्क साम्पाङसँग सकारात्मक छलफल भएको चौलागाईँले बताएका छन्। उनका अनुसार हर्क साम्पाङले आफ्नो बारेमा धेरै सुनेको उल्लेख गर्दै पार्टीभित्र आवश्यक जिम्मेवारी दिने आश्वासन दिएका छन्।

‘पार्टीले दिएको जुनसुकै जिम्मेवारी पनि इमानदारीपूर्वक पूरा गर्नेछु,’ चौलागाईँले बताएका छन्। उनका अनुसार श्रम संस्कृति पार्टीले अघि सारेको श्रम, आत्मनिर्भरता र विकासको अभियानमा आफू सक्रिय रूपमा सहभागी हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।