लोड हुँदैछ...

मेनु

अनलाइन बेटिङबाट अबैध आर्जन गरेको आरोपमा सम्पत्ति शुद्धीकरण मुद्दा

अनलाइन बेटिङबाट अबैध आर्जन गरेको आरोपमा सम्पत्ति शुद्धीकरण मुद्दा

विराटनगर । अनलाइन बेटिङमार्फत अवैध रूपमा ठूलो रकम आर्जन गरेको आरोपमा पक्राउ परेका झापाका दुई जनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दासमेत दर्ता गरिएको छ।

झापामा पहिलो पटक अनलाइन सट्टाबाजीको अनुसन्धान साइबर अपराधबाट अघि बढेर आर्थिक अपराधको तहसम्म पुगेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक रञ्जन अवाका अनुसार गत वैशाख २७ गते बिर्तामोडबाट पक्राउ परेका मेचीनगर–१० का २७ वर्षीय विपिन गिरी र बिर्तामोड–६ का ३६ वर्षीय भुवन मेचेविरुद्ध अनलाइन बेटिङ सञ्चालनसँगै सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। प्रहरीले विपिन गिरीलाई बिर्तामोड–५ स्थित ‘गो ६९ क्याफे’बाट तथा भुवन मेचेलाई बिर्तामोड–४ स्थित ‘रेड हट चिल्ली’बाट पक्राउ गरेको थियो।

प्रारम्भिक अनुसन्धानबाट उनीहरूले अनलाइन सट्टाबाजीमार्फत उल्लेख्य रकम आर्जन गरेको र त्यसको वास्तविक स्रोत लुकाएर वैध आम्दानीका रूपमा देखाउने प्रयास गरेको आशंकामा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा अघि बढाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अनुसन्धान अहिले अनलाइन बेटिङ सञ्चालनमा मात्र सीमित नरही उनीहरूको बैंकिङ कारोबार, डिजिटल भुक्तानी प्रणाली, सम्पत्तिको स्रोत, लगानी तथा आर्थिक कारोबारको सम्पूर्ण शृंखला केलाउने दिशामा केन्द्रित भएको छ।

अनलाइन बेटिङबाट आर्जित रकमलाई वैध आयका रूपमा प्रस्तुत गरिएको हो वा होइन भन्ने विषय अनुसन्धानको मुख्य केन्द्रमा रहेको छ। नेपालमा अनलाइन बेटिङ कानुनविपरीत मानिन्छ। पछिल्ला वर्षहरूमा सामाजिक सञ्जाल, मोबाइल एप र विभिन्न डिजिटल माध्यममार्फत यस्तो गतिविधि विस्तार हुँदै गएको छ। यसबाट हुने आर्थिक कारोबारको आकार बढ्दै जाँदा अनुसन्धान निकायहरूले यसलाई संगठित आर्थिक अपराधको रूपमा समेत लिन थालेका छन्।

कानुन कार्यान्वयन निकायका अनुसार अनलाइन बेटिङबाट प्राप्त रकम अन्य व्यक्तिको नाममा राख्ने, विभिन्न बैंक खातामार्फत घुमाउने वा घरजग्गा तथा अन्य सम्पत्तिमा लगानी गरेर स्रोत लुकाउने प्रवृत्ति बढ्दै गएको छ। यही कारण पछिल्लो समय यस्ता घटनामा सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनी प्रावधान प्रयोग गर्न थालिएको हो।

प्रहरीले पक्राउ परेका दुवै जनाको आर्थिक गतिविधिसँग जोडिएका अन्य व्यक्ति, कारोबारी सञ्जाल तथा सम्भावित सहयोगीहरूको भूमिकाबारे पनि अनुसन्धान गरिरहेको जनाएको छ। अनुसन्धानका क्रममा प्राप्त प्रमाणका आधारमा थप व्यक्तिहरू कानुनी दायरामा आउन सक्ने प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।