काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार पनि सेयर बजारमा गिरावट जारी रहँदा नेप्से परिसूचक लगातार तेस्रो दिन घटेर चार महिनायताकै न्यून विन्दुमा झरेको छ। बुधबार नेप्से १४.४५ अंकले घटेर २६६०.०२ विन्दुमा कायम भएको हो, जुन फागुन १४ यताकै सबैभन्दा न्यून स्तर हो।
दिनभर बजारमा दबाब देखिएको थियो। कारोबारका क्रममा नेप्से एक समय २६३४ विन्दुसम्म झरेको थियो। सेन्सेटिभ इन्डेक्स २.६० अंक, फ्लोट इन्डेक्स ०.९८ अंक तथा सेन्सेटिभ फ्लोट इन्डेक्स ०.८३ अंकले घटेका छन्।
परिसूचक घटे पनि कारोबार रकममा भने सामान्य वृद्धि भएको छ। मंगलबार ४ अर्ब ३६ करोड रुपैयाँको कारोबार भएको बजारमा बुधबार ३३८ कम्पनीका १ करोड ७ लाख ७७ हजार कित्ता सेयर ७२ हजार ९१७ पटक किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ४१ करोड ८६ लाख ७ हजार रुपैयाँ पुगेको छ।
बजारमा हालै सूचीकृत टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बालिङ हाइड्रोपावरको सेयर मूल्य लगातार दोस्रो दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भयो। दुवै कम्पनीको सेयर मूल्य १५ प्रतिशत अर्थात् ५९ रुपैयाँ ५० पैसाले बढेर ४५६ रुपैयाँ २० पैसामा पुगेको छ। भुजुङ हाइड्रोपावरको सेयर मूल्य १४.६९ प्रतिशत तथा सिवाईसी नेपाल लघुवित्तको ९.९० प्रतिशतले बढ्यो।
यता, सोपान फर्मास्युटिकल्सको सेयर मूल्य सबैभन्दा धेरै ५.०५ प्रतिशतले घटेको छ भने भगवती हाइड्रोपावरको मूल्य ३.६६ प्रतिशतले ओरालो लागेको छ।
कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रह्यो। कम्पनीको २९ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। सोपान फर्मास्युटिकल्सको १७ करोड रुपैयाँभन्दा बढी तथा युनाइटेड मोदी हाइड्रोपावरको करिब १२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। सप्तकोशी विकास बैंक र साहस ऊर्जा पनि उच्च कारोबार हुने कम्पनीको सूचीमा परेका छन्।
१३ उपसमूहमध्ये वित्त र व्यापार समूहमा सामान्य वृद्धि देखिए पनि बाँकी ११ उपसमूहमा गिरावट आएको छ। उत्पादन तथा प्रशोधन समूहको परिसूचक सबैभन्दा धेरै १.१० प्रतिशतले घटेको छ। अन्य उपसमूह पनि १ प्रतिशतभन्दा बढीले ओरालो लागेका छन्।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।