लोड हुँदैछ...

मेनु

औषधी व्यवसायी संघ मोरङको स्थापना दिवसमा सप्ताहव्यापी कार्यक्रम सुरु

औषधी व्यवसायी संघ मोरङको स्थापना दिवसमा सप्ताहव्यापी कार्यक्रम सुरु

विराटनगर । नेपाल औषधी व्यवसायी संघ मोरङले संघको स्थापना दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम सुरु गरेको छ ।

कार्यक्रमको पहिलो दिन बिहीबार कोशी अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गरिएको छ । अस्पतालको बालबालिका विभाग र पोषण वार्डमा उपचाररत बिरामी तथा उनीहरूका कुरुवाहरूलाई फलफूल वितरण गरिएको हो । संघले आगामी असार ४ गतेदेखि १० गतेसम्म विभिन्न सामाजिक तथा सचेतनामूलक कार्यक्रमहरू आयोजना गरी स्थापना दिवस मनाउन लागेको छ ।

सोही योजना अनुरूप पहिलो दिन कोशी अस्पतालका बिरामीहरूका लागि फलफूल वितरण गरिएको संघका मोरङ अध्यक्ष देशबन्धु ढकालले जानकारी दिए । फलफूल वितरण कार्यक्रममा अस्पतालका निवर्तमान मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. रामनारायण चौधरीसहित संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको संयोजन वरिष्ठ उपाध्यक्ष हरिराज रेग्मी र सदस्य राजेशकुमार मण्डलले गरेका थिए ।

सप्ताहव्यापी कार्यक्रमको दोस्रो दिन विराटनगर–१६ स्थित मिल्स माध्यमिक विद्यालयमा लागूऔषध तथा मनोद्दीपक औषधिसम्बन्धी जनचेतनामूलक कार्यक्रम तय गरिएको छ । यस कार्यक्रमको संयोजकमा कोषाध्यक्ष मनोजकुमार मण्डल रहेका छन् । तेस्रो दिन जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङलाई लागूपदार्थ परीक्षण गर्ने किट तथा ट्राफिक सचेतनामूलक बोर्ड हस्तान्तरण गरिने संघले जनाएको छ ।
यस्तै, चौथो दिन बेलबारीमा औषधिको समुचित प्रयोग, भण्डारण एवं बिक्री–वितरणसम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरिनेछ । उक्त कार्यक्रमको संयोजकको जिम्मेवारी खुद्रा उपाध्यक्ष मुकेशकुमार श्रीवास्तवलाई दिइएको छ । पाँचौँ दिन मानव सेवा आश्रममा भोजन गराउनुका साथै स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने कार्यक्रम छ, जसको संयोजन निवर्तमान अध्यक्ष लक्ष्मीप्रसाद तिम्सिनाले गर्नेछन् ।

महासचिव अरुणकुमार ठाकुरका अनुसार छैटौँ दिन विराटनगरको हस्पिटल चोकमा रक्तदान कार्यक्रम आयोजना गरिनेछ । सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन असार १० गते बिहान प्रभातफेरी गरिने र दिउँसो संघको आफ्नै भवनमा औपचारिक समारोहका साथ समापन गरिनेछ । सोही दिन साँझ दीप प्रज्वलनसमेत गरिनेछ । समापन कार्यक्रमको संयोजन सचिव सरिता श्रेष्ठ चौधरीले गर्ने अध्यक्ष ढकालले जानकारी दिए ।

स्थापना दिवसलाई अर्थपूर्ण र सामाजिक सेवामुखी बनाउन साताभरि नै विभिन्न रचनात्मक कार्यक्रमहरूको तयारी गरिएको संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।