काठमाडौँ । बजारमा अण्डाको माग उच्च भएपछि यसको मूल्यमा पनि क्रमशः वृद्धि हुन थालेको छ । नेपाल लेयर्स कुखुरापालक संघले आजदेखि लागू हुने गरी अण्डाको फार्म मूल्यमा वृद्धि गरेको हो । नयाँ मूल्यअनुसार ठूलो अण्डा एक क्रेट (३० वटा) को फार्म मूल्य ४९५ रुपैयाँ पुगेको छ । यसअघि प्रतिक्रेट ४६५ रुपैयाँमा बिक्री हुँदै आएको ठूलो अण्डाको मूल्यमा ३० रुपैयाँले वृद्धि गरिएको संघले जनाएको छ । त्यस्तै, मझौला अण्डाको मूल्य पनि प्रतिक्रेट ३० रुपैयाँले नै बढेर ४७५ रुपैयाँ कायम भएको छ, जुन यसअघि ४४५ रुपैयाँ थियो ।
संघका अध्यक्ष विनोद पोखरेलका अनुसार देशमा निर्वाचनको माहोल बन्नु, सीमा क्षेत्रमा कडाइ गरिनु र अण्डा उत्पादन गर्ने कुखुराको सङ्ख्यामा कमी आउनुले मूल्य वृद्धिमा सघाउ पुर्याएको हो । यसका साथै लामो समय बन्द रहेका विद्यालयहरू पुनः सञ्चालनमा आउनुले पनि बजारमा अण्डाको माग बढाएको उहाँले बताउनुभयो । गत मंसिरमा अण्डाको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो, जतिबेला फार्ममा ठूलो अण्डा प्रतिक्रेट ५६५ र मझौला ५५० रुपैयाँसम्म बिक्री भएको थियो ।
अहिले मूल्यमा केही सुधार देखिए पनि यो अझै किसानको उत्पादन लागतभन्दा कम नै रहेको छ । संघको तथ्याङ्कअनुसार एक गोटा अण्डाको उत्पादन लागत १९ रुपैयाँ १२ पैसा पर्न आउँछ, जसअनुसार एक क्रेट अण्डा तयार गर्न किसानको ५७४ रुपैयाँ ६ पैसा खर्च हुन्छ । लागत मूल्यभन्दा निकै कममा अण्डा बिक्री गर्नुपर्दा किसानहरू निराश बनेको अवस्थामा पछिल्लो समय बढ्न थालेको मूल्यले केही राहत मिल्ने आशा पलाएको छ । संघले बजारको माग र आपूर्तिको अवस्था हेरेर समय–समयमा अण्डाको समर्थन मूल्य तय गर्दै आएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।