विराटनगर । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक बढेर बन्द भएको छ । अघिल्लो दिन करेक्सन देखिएको बजार बिहीबार पुनः सुधार हुँदै ९.२३ अंकले बढेर २७१४.६१ विन्दुमा पुगेको हो ।
परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन ८ अर्ब ९२ करोड रुपैयाँको सेयर कारोबार भएकोमा बिहीबार ९ अर्ब ७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यस दिन ३३२ वटा धितोपत्रको १ करोड ९० लाख ७५ हजार ७५६ कित्ता सेयर कारोबार भएको हो ।
बजारमा अधिकांश स्टकको मूल्य बढेको देखिएको छ । बिहीबार १६२ कम्पनीको सेयरमूल्य बढेको छ भने ८८ कम्पनीको घटेको छ । १० कम्पनीको मूल्य स्थिर रहेको छ ।
तीन कम्पनीको सेयरमूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ । एसवाई प्यानल, श्रीनगर एग्रिटेक र त्रिशूली जलविद्युतको सेयरमूल्य १० प्रतिशतका दरले बढेको हो । यी कम्पनीहरूको प्रतिकित्ता मूल्य क्रमशः १ हजार ७१० रुपैयाँ ५० पैसा, १ हजार ३९८ रुपैयाँ १० पैसा र ४२५ रुपैयाँ ७० पैसा पुगेको छ ।
यस दिन कालिका पावर कम्पनीको सेयरमूल्य सर्वाधिक ६.२५ प्रतिशतले घटेर प्रतिकित्ता ५८६ रुपैयाँ ९० पैसामा झरेको छ ।
कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ । प्रतिकित्ता २४४ रुपैयाँमा उक्त कम्पनीको ४० करोड ८२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आँखुखोलाको सेयरमूल्य अघिल्लो दिनको तुलनामा ५.१३ प्रतिशतले बढेको हो । सर्वाधिक कारोबार हुने दोस्रो स्थानमा मञ्जुश्री फाइनान्स रहेको छ । सो कम्पनीको प्रतिकित्ता ८३४ रुपैयाँमा ३५ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
समूहगत रुपमा हेर्दा बिहीबार कारोबारमा आएका १३ उपसमूहमध्ये तीन उपसमूहको परिसूचक घटेको छ भने बाँकी सबै उपसमूहको परिसूचक बढेको छ । वित्त उपसमूहको परिसूचक सर्वाधिक २.३८ प्रतिशतले बढेको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।