जनकपुरधाम । काठमाडौँ महानगरपालिकाका निवर्तमान प्रमुख बालेन्द्र शाह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध हुनुका साथै आगामी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत भएका छन् । सोमबार मधेस प्रदेशको राजधानी जनकपुरधाममा आयोजित रास्वपाको विशाल जनसभालाई सम्बोधन गर्दै शाहले आफू मधेस र देशको विकासका लागि ‘काम माग्न’ आएको घोषणा गरे ।
मेयर पदबाट राजीनामा दिएपछि पहिलो पटक राजनीतिक भाषण गरेका शाहले आफूलाई देशकै नेतृत्व गर्ने गरी काम दिन जनतासँग आग्रह गरे । “मधेसी छोरा प्रधानमन्त्री बन्न लागेको भनेर मात्र मत नदिनुस्, सही मान्छे र सही सरकार बन्दैछ भनेर भोट दिनुस्,” उनले भने, “काठमाडौँवासीले जसरी मलाई काम गर्ने मौका दिनुभयो, त्यसरी नै तपाईंहरू पनि मलाई काम गर्ने जिम्मा दिनुहुन्छ?”
रास्वपाको सङ्घीयता र प्रदेशप्रतिको धारणामाथि प्रश्न उठिरहेका बेला वरिष्ठ नेता शाहले सङ्घीयतालाई अझ बलियो बनाउनुपर्ने धारणा राखे । उनले प्रदेश सरकार अधिकारविहीन भएको भन्दै वर्तमान प्रशासनिक प्रणालीको आलोचना गरे ।
“जनकपुरको मेयर वा मधेसको मुख्यमन्त्रीले एउटा प्रमुख प्रशासकीय अधिकृत फेर्नका लागि किन काठमाडौँ धाउनुपर्ने ?” भन्दै उनले प्रश्न गरे । शाहले मधेसका जनतालाई अधिकारका लागि काठमाडौँ जानु नपर्ने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरे । “काठमाडौँ त पशुपति र स्वयम्भू घुम्न जाने ठाउँ हो, अधिकार माग्न जाने ठाउँ होइन । मधेसको राजधानी जनकपुर नै अधिकार सम्पन्न हुनुपर्छ,” उनले भने ।
आफ्नो सम्बोधनका क्रममा बालेनले काठमाडौँ महानगरमा आफूले गरेका कामलाई समाजवादको उदाहरणका रूपमा प्रस्तुत गरे । उनले २० हजारभन्दा बढी विद्यार्थीलाई छात्रवृत्तिमा पढाएको र १० प्रतिशत बिरामीलाई निःशुल्क उपचारको व्यवस्था गरेको स्मरण गर्दै यस्तो प्रणाली देशभरि लागू गर्नुपर्ने बताए ।
जनकपुरको ऐतिहासिक र धार्मिक महत्त्वको चर्चा गर्दै उनले यहाँका पोखरी र मन्दिरको संरक्षण अब रास्वपाले गर्ने बताए । शाहले दाबी गरे, “पूरै देशमा १० लाख पर्यटक आउँदा जनकपुर एक्लैले त्यो सङ्ख्या धान्न सक्ने क्षमता राख्छ, तर यहाँका सम्पदाको संरक्षण आवश्यक छ ।”
सम्पूर्ण भाषण मैथिली भाषामा गरेका शाहले मधेससँग आफ्नो भावनात्मक सम्बन्ध जोड्दै उखु किसानको आन्दोलन र मधेसले भोग्नुपरेको विभेदको प्रसङ्ग समेत उठाए । उनले अब मधेसको छोरा देशको नेतृत्व गर्न तयार भएको भन्दै आगामी निर्वाचनमा रास्वपाको चुनाव चिह्न ‘घण्टी’ मा मतदान गर्न आह्वान गरे ।
सोही सभालाई सम्बोधन गर्दै रास्वपाका सभापति रवि लामिछानेले बालेन शाहसँगको सहकार्यले देशमा नयाँ आशा जगाएको बताए । लामिछानेले सरकारले आफूमाथि प्रतिशोध साध्न विभिन्न मुद्दा लगाएको आरोप लगाउँदै अब आफूलाई जेल जान पनि डर नभएको बताए ।
“जुन दिन बालेनजी र मेरो भेट भयो, हामीले ५ मिनेटमै देश हितका लागि सहमति गर्यौँ,” लामिछानेले भने, “अहिलेको सरकारले ममाथि जस्तोसुकै मुद्दा लगाएर जेल पुर्याए पनि मलाई चिन्ता छैन, किनकि देशले बालेन पाएको छ । मधेसले उन्नत बिउ रोपेको छ, अब आफ्नो सपना खोसेर लिने बेला आएको छ ।”
लामिछानेले विगतमा आफूले सबैभन्दा धेरै मत पाएको उल्लेख गर्दै आगामी निर्वाचनमा आफ्नो पार्टीले देशैभरिबाट सबैभन्दा धेरै मत ल्याउने दाबी समेत गरे । जनकपुरको सभामा उर्लिएको जनसागरले रास्वपा र बालेन शाहको नयाँ राजनीतिक यात्रालाई उत्साहजनक साथ दिएको देखिएको छ ।











प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।