विराटनगर । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार सकारात्मक देखिएको छ ।
अघिल्लो कारोबार दिन बुधबार सामान्य अंकले बढेर बन्द भएको नेप्से परिसूचक यस दिन ११७ प्रतिशतले उकालो लागेको हो ।
आइतबार नेप्से परिसूचक ३१.१२ अंकले बढेर २६७२.५५ विन्दुमा पुगेको छ । यससँगै सेन्सेटिभ इण्डेक्स ४.७० अंकले बढेको छ भने फ्लोट इण्डेक्स २.४१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७४ अंकले वृद्धि भएको छ ।
नेप्सेको वृद्धिलाई कारोबार रकमले पनि बलियो साथ दिएको छ । गत बुधबार ६ अर्ब २० करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा आइतबार ३३८ वटा स्टकको ९५ हजार ४४५ पटकको कारोबारबाट ८ अर्ब ४० करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १ करोड ६६ लाख ११ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
यस दिन चार वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सागर डिष्टिलरी, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था, श्रीनगर एग्रीटेक इण्डष्ट्रिज र गोर्खाज फाइनान्सका सेयरमा सर्किट लागेको हो । त्यस्तै, सेन्ट्रल फाइनान्स र गुराँस लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य करिब ९ प्रतिशतले बढेको छ भने बन्दीपुर केबलकार एण्ड टुरिजमको सेयरमूल्य करिब साढे ७ प्रतिशतले वृद्धि भएको छ । कारोबारमा आएको थ्रिस्टार हाइड्रोपावरको सेयरमूल्य यस दिन सर्वाधिक ८.७८ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आइतबार मञ्जुश्री फाइनान्स शीर्ष स्थानमा रहेको छ । सो फाइनान्सको ५३ करोड १६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, एसवाई प्यानल नेपालको कारोबार रकम ३७ करोड रुपैयाँभन्दा बढी पुगेको छ भने श्रीनगर एग्रीटेक इण्डष्ट्रिजको कारोबार २८ करोड रुपैयाँ नाघेको छ ।
उपसमूहतर्फ आइतबार सबै १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये वित्त उपसमूह सबैभन्दा बढी ५.७३ प्रतिशतले उकालो लागेको छ । विकास बैंक उपसमूहको परिसूचक ३ प्रतिशतले बढेको छ भने होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।