लोड हुँदैछ...

मेनु

बेलबारी महोत्सवको : ४० हजार दर्शकले गरे अवलोकन,५० लाखको कारोबार

बेलबारी महोत्सवको : ४० हजार दर्शकले गरे अवलोकन,५० लाखको कारोबार

बेलबारी । बेलबारी उद्योग वाणिज्य संघको आयोजनामा जारी ‘तेस्रो बेलबारी महोत्सव’ उत्साहजनक रूपमा अगाडि बढिरहेको छ । गत पुस २५ गतेदेखि सुरु भएको महोत्सव आज सातौँ दिनमा प्रवेश गर्दा दर्शकहरूको आकर्षण र आर्थिक गतिविधि दुवैमा वृद्धि भएको छ ।

बेलबारी उद्योग वाणिज्य संघका महासचिव विवेक मिश्रका अनुसार महोत्सवको सातौँ दिनसम्म आइपुग्दा करिब ४० हजार दर्शकले अवलोकन गरिसकेका छन् । दर्शकको बाक्लो उपस्थितिसँगै आर्थिक कारोबार पनि सन्तोषजनक रहेको मिश्रले जानकारी दिए । ‘महोत्सवको सातौँ दिनसम्म ५० लाख रुपैयाँभन्दा बढीको व्यावसायिक कारोबार भएको छ,’ उनले भने । महोत्सवमा ५० वटा व्यापारिक स्टल र १५ वटा होटलका स्टल गरी कुल ६५ वटा स्टलहरू सञ्चालनमा रहेका छन् ।

महोत्सवलाई रोचक बनाउन दैनिक रूपमा विविध कार्यक्रमहरू आयोजना भइरहेका छन् । दिउँसोको समयमा विभिन्न विद्यालयका विद्यार्थीहरूको प्रतिभा प्रदर्शन, साहित्यिक कार्यक्रम तथा अन्य सांस्कृतिक गतिविधिहरू हुने गरेका छन् भने साँझको समयमा सांगीतिक कार्यक्रमले दर्शकलाई मनोरञ्जन दिने गरेको छ ।

महोत्सवको आजको विशेष आकर्षणका रूपमा नेपाली आधुनिक संगीत क्षेत्रका चर्चित गायक जीवबको प्रस्तुति रहनेछ । त्यस्तै, भोलि शनिबार चर्चित गायिका तृष्णा गुरुङको सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।

महोत्सवलाई मनोरञ्जनका साथै चेतनामूलक बनाउने उद्देश्यले आगामी आइतबार हात्तीविज्ञहरूसँग विशेष अन्तरक्रिया कार्यक्रम समेत तय गरिएको छ । उक्त कार्यक्रममा हात्तीको आहारा, यसको संरक्षण र प्राविधिक पक्षबारे विज्ञहरूसँग छलफल गरिनेछ ।

स्थानीय व्यापार, कृषि र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालित यो महोत्सव आगामी माघ ५ गतेसम्म जारी रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।