लोड हुँदैछ...

मेनु

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ : उदयपुरमा निर्वाचन अधिकृतका दुई कार्यालय स्थापना

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ : उदयपुरमा निर्वाचन अधिकृतका दुई कार्यालय स्थापना

उदयपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को तयारीलाई तीव्र बनाउँदै उदयपुर जिल्लामा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।

उदयपुरमा प्रतिनिधिसभाका लागि दुईवटा निर्वाचन क्षेत्र कायम रहेकाले निर्वाचन क्षेत्र नं. १ र २ मा छुट्टाछुट्टै कार्यालय सञ्चालनमा ल्याइएको हो। निर्वाचन क्षेत्र नं. १ का लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय त्रियुगा नगरपालिका–१०, बोक्से स्थित जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको भवन मा स्थापना गरिएको छ।

उक्त कार्यालयको औपचारिक उद्घाटन मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश मुकेश उपाध्याय ले शुक्रबार गर्नुभएको हो। मुख्य निर्वाचन अधिकृत उपाध्यायका अनुसार निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र विश्वसनीय रूपमा सम्पन्न गराउन आवश्यक सम्पूर्ण तयारी समयमै पूरा गर्ने उद्देश्यले कार्यालय स्थापना गरिएको हो।

उहाँले निर्वाचनलाई शान्तिपूर्ण र मर्यादित बनाउन राजनीतिक दल, सुरक्षा निकाय, सञ्चारकर्मी र सम्पूर्ण सरोकारवालाको सहकार्य अपरिहार्य रहेको पनि उल्लेख गर्नुभयो। मुख्य निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएसँगै निर्वाचन क्षेत्र नं. १ अन्तर्गत हुने मतदान केन्द्र निर्धारण, मतदाता नामावली व्यवस्थापन, निर्वाचन सामग्री व्यवस्थापन, कर्मचारी परिचालन लगायत सम्पूर्ण प्रशासनिक तथा कानुनी प्रक्रिया अब यही कार्यालयमार्फत सञ्चालन हुने जनाइएको छ। १ नम्बर निर्वाचन क्षेत्र अन्तर्गत त्रियुगा नगरपालिका, चौदण्डीगढी नगरपालिका र बेलका नगरपालिका पर्दछन्।

त्यस्तै निर्वाचन क्षेत्र नं. २ का लागि निर्वाचन अधिकृतको कार्यालय कटारी–३ स्थित उदयपुर उद्योग वाणिज्य संघको कार्यालयमा स्थापना गरिएको छ। २ नम्बर निर्वाचन अधिकृत लोकबहादुर कटुवालका अनुसार निर्वाचन प्रक्रिया शान्त, निष्पक्ष, सभ्य र सहज ढंगले सम्पन्न गराउने लक्ष्यसहित कार्यालय सञ्चालनमा ल्याइएको हो।

कटुवालले निर्वाचनलाई सफल बनाउन राजनीतिक दल, सुरक्षा निकाय, सञ्चारकर्मी तथा सबै सरोकारवालालाई सहयोग र समन्वय गर्न आग्रह गर्नुभएको छ। निर्वाचन कार्यालयले आगामी दिनहरूमा मनोनयन, दर्ता, प्रचार–प्रसार व्यवस्थापन, उजुरी/गुनासो व्यवस्थापन लगायत निर्वाचनसँग सम्बन्धित सम्पूर्ण कार्य यही कार्यालयमार्फत अगाडि बढाउने जनाएको छ। निर्वाचन क्षेत्र नं. २ अन्तर्गत कटारी नगरपालिका, लिम्चुङबुङ गाउँपालिका, रौतामाई गाउँपालिका, उदयपुरगढी गाउँपालिका र ताप्ली गाउँपालिका समावेश छन।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds