लोड हुँदैछ...

मेनु

अन्तरवार्ता

‘सुनसरी–१ मा हर्क साम्पाङलाई निर्विरोध जिताए हुन्छ’

‘सुनसरी–१ मा हर्क साम्पाङलाई निर्विरोध जिताए हुन्छ’

विराटनगर । नेपाली राजनीतिमा श्रम संस्कृतिको नयाँ भाष्य स्थापित गर्न खोजिरहेका हर्क साम्पाङ अब स्थानीय तहबाट माथि उठेर श्रम संस्कृति पार्टीबाटै केन्द्र्रको राजनीतिमा हस्तक्षेप गर्ने तयारीमा छन् । उनको पार्टीले आगामी निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगर्ने र आफ्नै चुनाव चिह्न माटो लिएर मैदानमा उत्रने घोषणा गरेको छ । नयाँ भनिएका शक्तिहरूलाई एमसीसीका मतियारको संज्ञा दिने र पुराना दलहरूलाई चुनौती दिने यो पार्टीको अबको बाटो कस्तो होला ? पार्टीका प्रवक्ता सत्य घलेसँग उम्मेद्वार छनोटदेखि भावी सत्ता समीकरणसम्मका विषयमा गरिएको विस्तृत कुराकानी :

श्रम संस्कृति पार्टीले निर्वाचनका लागि उम्मेदवारहरूको टुङ्गो कसरी लगाइरहेको छ ? अहिलेसम्म कति क्षेत्रमा फाइनल भयो ?

– उम्मेदवार चयनको प्रक्रिया निरन्तर चलिरहेको छ । ठ्याक्कै संख्या भन्न नसकिए पनि धेरै ठाउँमा हामीले टुङ्गो लगाइसकेका छौँ । विशेषगरी प्रदेश नम्बर १ का धेरै क्षेत्रहरूमा उम्मेदवारी फाइनल भएको छ । झापाका ५ वटा क्षेत्रमध्ये ४ वटामा भइसकेको छ । त्यस्तै संखुवासभा, भोजपुर लगायतका जिल्लामा पनि टुङ्गिएको छ । आज काठमाडौँदेखि पूर्वका धेरै साथीहरू टिकट लिनका लागि धरानमै आइरहनुभएको छ । अध्यक्षज्यू अहिले टिकट वितरण र व्यवस्थापनमै व्यस्त हुनुहुन्छ ।

तपाईँहरूले १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउन लाग्नुभएको हो ?

– हो । हाम्रो लक्ष्य देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने नै हो । अहिले पूर्वका साथीहरूलाई धरानमै बोलाएका छौँ । यसपछि मेयर साब आफैँ काठमाडौँ जाँदै हुनुहुन्छ । काठमाडौँमा रहँदा त्यहाँ लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका साथीहरूलाई बोलाएर टिकट वितरण गर्ने कार्यक्रम छ ।

पछिल्लो समय प्रगतिशिल लोकतान्त्रिक पार्टीका संयोजक सुदन किराती लगायतका नेताहरूसँग पनि तपाईँहरूको भेटघाट भयो । अरू दलसँग चुनावी गठबन्धन वा सहकार्यको सम्भावना कत्तिको छ ?

– हामी कसैसँग पनि चुनावी गठबन्धन गर्दैनौँ । हाम्रो विचार र सिद्धान्त एकदमै प्रष्ट छ । हाम्रो विचार र सिद्धान्तसँग सहमत हुने जो कोही हाम्रो चुनाव चिह्न माटो चिह्न लिएर आउनुहुन्छ भने मात्रै सहकार्य हुन सक्छ । सुदन किरातीजीका साथीहरू पनि सहकार्यको प्रस्ताव लिएर आउनुभएको थियो । तर कुरा मिलेन । हामीले हाम्रो चिह्नबाट लड्नुपर्ने सर्त राख्यौँ, उहाँहरूले मान्नुभएन । उहाँ सायद सुनसरी क्षेत्र नम्बर १ बाटै उठ्ने तयारीमा हुनुहुन्छ । तर मेरो दाबी छ— उहाँ त्यहाँबाट उठ्नुभयो भने उहाँको जमानत जफत हुनेछ । उहाँसँग थोरै कार्यकर्ता होलान्, तर हर्क साम्पाङको अगाडि उहाँको केही चल्दैन । सुनसरी क्षेत्र नम्बर १ मा त म त भन्छु— सबै दल मिलेर आए पनि हर्क साम्पाङको जित सुनिश्चित छ । चुनावी खर्च बचाउनका लागि उहाँलाई निर्विरोध जिताउँदा पनि हुन्छ । जसरी विगतमा १० दल मिलेर आउँदा पनि उहाँले जित्नुभयो । यसपालि पनि त्यस्तै हुनेछ ।

तपाईँहरूले आगामी निर्वाचनमा कस्तो नतिजाको अपेक्षा गर्नुभएको छ ?

– हामीले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ गरी बहुमतको सरकार बनाउने आकलन र तयारी गरेका छौँ । हामी बहुमतकै सरकार बनाउँछौँ ।

हर्क साम्पाङले नयाँ पुराना सबै दल र बालेन शाह, रवि लामिछाने जस्ता पात्रहरूमाथि कडा टिप्पणी गरिरहनुभएको छ । यसले सुभेच्छुकहरू रुष्ट हुन्छन् भन्ने लाग्दैन ?

– पुराना दलहरूसँग त हाम्रो प्रतिस्पर्धा छँदैछ । किनकि उनीहरूको वर्षौँदेखिको सङ्गठन छ । तर यी नयाँ भनिएका रास्वपा (जसलाई म राष्ट्रिय झुक्याउने पार्टी भन्छु)ले जनतालाई झुक्याइरहेका छन् । उनीहरू फेसबुकबाट बालेनलाई प्रधानमन्त्री बनाउँछन्, तर जनताले हर्क साम्पाङलाई रोजिसकेका छन् । उनीहरूको कुनै स्पष्ट विचार र सिद्धान्त छैन । कुुलमान घिसिङहरू कहिले हरियो, कहिले नीलो टोपी लगाएर हिँड्छन्, उनीहरूमा पनि स्पष्टता छैन । मेयर साबले बोलेको कुरा भनेको जनताको दिमागको बिर्को खोलिदिएको मात्र हो । अर्को मुख्य कुरा यी नयाँ शक्ति भनिएकाहरू सबै एमसीसीका मतियार हुन् । स्वर्णिम वाग्लेजी जस्ता व्यक्तिहरू त खुलमखुल्ला एमसीसीको वकालत गर्नुहुन्छ । हामी ३ करोड जनतासँग सहकार्य गर्न आएका हौँ । देशको अस्तित्व नै संकटमा पार्ने विदेशी शक्तिका मतियारहरूसँग हाम्रो कुनै सहकार्य हुन सक्दैन ।

हर्क साम्पाङले मेयर पदबाट राजीनामा कहिले दिनुहुन्छ ?

– उहाँले आगामी ५ गतेतिर राजीनामा दिनुहुनेछ । निर्वाचनको तयारीका लागि उहाँले राजीनामा दिएर पूर्ण रूपमा चुनावी अभियानमा होमिनुहुनेछ ।

पहिचानको आन्दोलन र डकेन्द्रसिंह थेगिमहरूसँगको सम्बन्ध अब कसरी अगाडि बढ्छ ?

– हामी संस्कृतिवादी हौँ, हामी सबैको संस्कृतिको सम्मान गर्छौँ । यसअघि डकेन्द्रसिंह थेगिम र काठमाडौँमा राजमानजीहरू स्वतन्त्र उठेको हुनाले हामीले एउटा स्वतन्त्र अभियानका हिसाबले सघाएका हौँ । तर अहिलेका कतिपय शक्तिहरू भित्रभित्रै राजावादी जस्ता देखिएका छन् । उनीहरूमा स्पष्टता छैन । हामी गणतन्त्रवादी र संस्कृतिवादी हौँ । त्यो कुरा मान्नेहरुसँग हाम्रो सहकार्य हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds