विराटनगर । चालु वर्षको दोस्रो त्रैमासको अन्तिम कारोबार दिन पुस ३० गते बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ।
अघिल्लो दिनको सकारात्मक प्रवृत्ति निरन्तरता पाउँदै नेप्से १.५२ अंकले बढेर २६४१.४३ विन्दुमा पुगेको हो।
यस दिन फ्लोट इण्डेक्स स्थिर रहँदा सेन्सेटिभ र सेन्सेटिभ फ्लोट इण्डेक्स भने सामान्य घटेका छन्। कारोबार रकममा भने यस दिन कमी आएको छ । मंगलबार ६ अर्ब ९९ करोड रुपैयाँको कारोबार भएको बजारमा बुधबार ३२० स्टकको ७२ हजारभन्दा बढी कारोबारमार्फत ६ अर्ब २० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
यस दिन सुपर मादी हाइड्रोपावरको सेयरमूल्य करिब १० प्रतिशतले बढ्दै सर्वाधिक वृद्धि देखिएको छ। थ्रीस्टार हाइड्रोपावर र एनएमबि माइक्रोफाइनान्सको सेयरमूल्य पनि उल्लेख्य बढेका छन् । घटेका सेयरको गिरावटदर भने साढे ३ प्रतिशतभन्दा कम रहेको छ।
कारोबार रकमका आधारमा राधी विद्युत शीर्ष स्थानमा रह्यो भने यूनियन हाइड्रोपावर र एसवाई प्यानल पनि उच्च कारोबार हुने कम्पनीमा परे। १३ उपसमूहमध्ये ८ उपसमूह बढ्दा वित्त उपसमूह सर्वाधिक २.५५ प्रतिशतले उकालो लागेको छ। बैंकिङ, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूह भने सामान्य घटेका छन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।