लोड हुँदैछ...

मेनु

अमेरिकाले परीक्षण गर्न खोजे इरान युद्धका लागि तयार छ

अमेरिकाले परीक्षण गर्न खोजे इरान युद्धका लागि तयार छ

काठमाडौं । इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकाले ‘परीक्षण गर्न चाहेमा’ इरान युद्धका लागि पूर्ण रूपमा तयार रहेको चेतावनी दिएका छन् । इरानमा जारी सरकारविरोधी प्रदर्शनमाथि भइरहेको दमनलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य कारबाहीको धम्की दिएपछि इरानको यस्तो प्रतिक्रिया आएको हो ।

सोमबार ‘अल जजिरा अरेबिक’लाई एक विशेष अन्तर्वार्ता दिँदै विदेशमन्त्री अराघचीले इरान र अमेरिकाबीच सञ्चारका माध्यमहरू अझै खुला रहेको जानकारी दिए । यद्यपि, उनले देश जुनसुकै सम्भावित विकल्पका लागि तयार रहेको स्पष्ट पारेका छन् । अराघचीले गत वर्षको १२ दिने युद्धको तुलनामा अहिले इरानसँग ‘ठूलो र व्यापक सैन्य तयारी’ रहेको दाबीसमेत गरे ।

इरानमा सुरुमा आर्थिक संकटबाट सुरु भएको जनआन्दोलनले अहिले राजनीतिक प्रणालीमै परिवर्तनको माग गरिरहेको छ । सो प्रदर्शनमाथि इरानी नेतृत्वले गरेको दमनलाई लिएर अमेरिकी राष्ट्रपति ट्रम्पले आइतबार ‘कडा विकल्प’ माथि विचार गरिरहेको बताएका थिए, जसमा सैन्य कारबाहीको सम्भावना पनि समावेश छ ।

हालै अमेरिकी विशेष फौजमार्फत भेनेजुएलाका वामपन्थी राष्ट्रपति निकोलस मादुरोलाई अपहरण गराएपछि ट्रम्पले इरानको परमाणु कार्यक्रमबारे वार्ता गर्न बैठकको तयारी भइरहेको बताएका थिए । तर, उनले ‘बैठकअघि नै कदम चाल्नुपर्ने हुन सक्छ’ भन्दै इरानमाथि सैन्य दबाब बढाउने संकेत दिएका छन् । राष्ट्रपति ट्रम्पको सोही अभिव्यक्तिको जवाफमा विदेशमन्त्री अराघचीले इरान रक्षात्मक रूपमा तयार रहेको सन्देश दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।