विराटनगर । सोमबार सेयर बजारको परिसूचक नेप्से घटेको छ। नेप्से ५.५४ अंकले घटेर २६३५ विन्दुमा बन्द भयो।
परिसूचक घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ९० करोड रूपैयाँको सेयर किनबेच भएकोमा सोमबार ६ अर्ब ४७ करोड रूपैयाँको कारोबार भएको हो।
यस दिन ३३३ वटा धितोपत्रको १ करोड २३ लाख ९ हजार ७४४ कित्ता सेयर कारोबार भयो। बजारमा ७५ कम्पनीको सेयरमूल्य बढ्दा १७८ कम्पनीको घट्यो भने सात कम्पनीको मूल्य स्थिर रह्यो।
सोमबार एसवाई प्यानल र श्रीनगर एग्रिगेटको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढ्यो। एसवाई प्यानलको प्रतिकित्ता मूल्य १ हजार ३८३ रूपैयाँ ८० पैसा र श्रीनगर एग्रिगेटको १ हजार ११४ रूपैयाँ ३० पैसा पुगेको छ। यस्तै, रसुवागढी हाइड्रोपावरको सेयरमूल्य ८.५३ प्रतिशतले बढेर २९४ रूपैयाँ पुगेको छ। अर्कोतर्फ सुपर मादी हाइड्रोपावरको सेयरमूल्य ४.२५ प्रतिशतले घटेर ४९६ रूपैयाँमा झरेको छ।
कारोबार रकमका आधारमा एसवाई प्यानल अग्रस्थानमा रह्यो। उक्त कम्पनीको ४२ करोड २२ लाख रूपैयाँ बराबरको सेयर किनबेच भयो। दोस्रो स्थानमा रहेको राधी विद्युतको ७८८ रूपैयाँ प्रतिकित्ता दरमा ३१ करोड ५७ लाख रूपैयाँको कारोबार भएको छ।
आज कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये नौ समूहको परिसूचक घटेको छ भने चार समूहको बढेको छ। तीमध्ये उत्पादन तथा प्रशोधन समूहको परिसूचक सबैभन्दा धेरै १.०२ प्रतिशतले बढेको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।