काठमाडौंं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिग्जलाई कडा चेतावनी दिँदै अमेरिकाले सही ठानेको बाटो अवलम्बन नगरे उनको हालत अपदस्थ राष्ट्रपति निकोलस मादुरोको भन्दा पनि खराब हुन सक्ने बताएका छन्।
‘द अटलान्टिक’ म्यागजिनलाई दिएको एक अन्तर्वार्ताका क्रममा राष्ट्रपति ट्रम्पले यस्तो चेतावनी दिएका हुन्। उनले भेनेजुएलाको नयाँ नेतृत्वले अमेरिकी अपेक्षाहरू पूरा गर्नुपर्नेमा जोड दिएका छन्।
‘न्युयोर्क पोस्ट’लाई दिएको अर्को अन्तर्वार्तामा ट्रम्पले यदि डेल्सी रोड्रिग्जले अमेरिकाको कुरा मानेमा भेनेजुएलामा थप अमेरिकी सेना तैनाथ गर्न आवश्यक नपर्ने स्पष्ट पारेका छन्। ट्रम्पका अनुसार, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यसअघि नै रोड्रिग्जसँग कुराकानी गरिसकेका छन् र उनी भेनेजुएलाका जनताको जीवनस्तर सुधार्न अमेरिकाले राखेका सर्तहरूमा काम गर्न इच्छुक देखिएकी छन्।
यद्यपि, डेल्सी रोड्रिग्जले भने निकोलस मादुरोलाई सत्ताबाट हटाइएको विषयको कडा आलोचना गरेकी छन्। उनले अमेरिकाले मादुरोलाई तत्काल भेनेजुएला फिर्ता पठाउनुपर्ने माग गरिरहेकी छन्।
ब्लूमबर्गका अनुसार भेनेजुएलाको सर्वोच्च अदालतले तत्कालीन उपराष्ट्रपति डेल्सी रोड्रिग्जलाई अन्तरिम राष्ट्रपतिको रूपमा तत्काल सम्पूर्ण अधिकारसहित कार्यभार सम्हाल्न आदेश दिएको छ।
आइतबार राति एयरफोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भेनेजुएलाको वर्तमान अवस्था अहिले अमेरिकाको पूर्ण नियन्त्रणमा रहेको दाबी गरे। उनले आफूले रोड्रिग्जसँग प्रत्यक्ष कुरा नगरे पनि आफ्ना सहयोगीहरू निरन्तर सम्पर्कमा रहेको र रोड्रिग्जले सहकार्य गरिरहेको बताए। ट्रम्पले भने, ‘सहयोगको बदलामा अमेरिकाले उनलाई केही दिएको छैन, तर उनी काम गर्न तयार छिन्।’
राष्ट्रपति ट्रम्पले भेनेजुएलाको तेल र अन्य प्राकृतिक स्रोतहरूमा अमेरिकाको पूर्ण पहुँच हुनुपर्ने आफ्नो मुख्य उद्देश्य रहेको खुलासा गरेका छन्। भेनेजुएलालाई ‘मरेको देश’ को संज्ञा दिँदै उनले अमेरिकी तेल कम्पनीहरू मार्फत ठूलो लगानी गरेर त्यहाँको ध्वस्त पूर्वाधार पुनर्निर्माण गर्नुपर्ने बताए।
यसैबीच, गत जनवरी २ को राति अमेरिकी सैनिकले भेनेजुएलामा विशेष अप्रेसन गरी राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई पक्राउ गरेको थियो। उनीहरूलाई हाल न्युयोर्कस्थित एक डिटेन्सन सेन्टरमा राखिएको छ। अमेरिकी अधिकारीहरूका अनुसार उनीहरूमाथि हतियार तथा लागुऔषध तस्करीको अभियोगमा मुद्दा चलाइने तयारी भइरहेको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।