विराटनगर । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बुधबार बढेर बन्द भएको नेप्से यस दिन भने ओरालो लागेको हो।
बिहीबार नेप्से परिसूचक १२.८३ अंकले घटेर २६२०.९२ विन्दुमा झरेको छ। यससँगै सेन्सेटिभ इण्डेक्स २.४३ अंक, फ्लोट इण्डेक्स ०.८४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८८ अंकले घटेका छन्।
नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। बुधबार ५ अर्ब १३ करोड रुपैयाँको कारोबार भएको बजारमा बिहीबार ३३६ स्टकको ६४ हजार ४०७ पटकको कारोबारबाट ४ अर्ब ७१ करोड ३९ लाख ५ हजार रुपैयाँबराबरको १ करोड १ लाख ५३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो लघुवित्तको शेयरमूल्य १३४ रुपैयाँ ६० पैसा बढेर १ हजार ४८१ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको हो। त्यस्तै, एसवाई प्यानल नेपालको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढ्दा हिम स्टार उर्जा कम्पनीको शेयरमूल्य ८ प्रतिशतभन्दा बढीले उकालो लागेको छ। कारोबारमा आएको ग्लोबल आइएमई समुन्नत योजना–२ को इकाईमूल्य भने सर्वाधिक १० प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा बिहीबार एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रह्यो। सो कम्पनीको २३ करोड ४१ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यसपछि शिवम् सिमेन्ट्सको करिब १४ करोड रुपैयाँ र बुटवल पावर कम्पनीको १२ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।
१३ उपसमूहमध्ये यस दिन केवल १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। अन्य उपसमूहको परिसूचक सामान्य बढ्दा व्यापार उपसमूहको परिसूचक भने सर्वाधिक १.०९ प्रतिशतले घटेको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।