विराटनगर । संखुवासभाको विकट सिलिचोङ गाउँपालिका–८ स्थित गोगने गाउँको एउटा तस्बिर यतिबेला सामाजिक सञ्जालमा चर्चाको केन्द्र बनेको छ, जहाँ एउटा साधारण काठको टेबुलमा पैसाका बिटाहरू थुपारिएका छन् र वरिपरि किसानहरू खुसी मुद्रामा छन् । धेरैलाई यो तस्बिर कुनै फिल्मको दृश्य वा रहस्यमय सम्पत्ति जस्तो लागे पनि यसको वास्तविकता भने सात वर्षको कठोर सामूहिक श्रम र ४७ घरधुरीको साझा सपनासँग जोडिएको छ । ुगोगने सामूहिक अलैँची बगान समूहु मा आबद्ध यी किसानहरूले पुस्तौँदेखि चल्दै आएको अर्मपर्मको संस्कारलाई व्यावसायिक रूप दिँदै यस वर्ष १ करोड १७ लाख ५३ हजार ८७५ रुपैयाँ बराबरको अलैँची बिक्री गरेर एउटा दुर्लभ उदाहरण प्रस्तुत गरेका छन् ।
स्थानीय बुकुरचोङ सामुदायिक वन र लिजमा लिइएको ५० रोपनी जग्गामा गरिएको यो सामूहिक खेतीको सफलता केवल भाग्यको कुरा मात्र होइन, बरु कडा अनुशासन र श्रमको उपज हो । गाउँपालिकाका कर्मचारी समेत रहेका स्थानीय उपभोक्ता अशोक कुलुङका अनुसार समूहमा प्रत्येक दिन हाजिरी हुने र काममा नआउनेलाई जरिवाना गर्ने कडा नियमका कारण नै आज फल बराबरी बाँड्न सम्भव भएको हो । विगतमा प्रतिमन ३० देखि ४० हजारमा अलैँची बेच्दै आएका यहाँका किसानले यसपालि प्रतिमन ९८ हजारको ऐतिहासिक मूल्य पाएपछि ११५ मन अलैँचीबाट करोडको आम्दानी भित्र्याउन सफल भए ।
आधुनिक बैंकिङ प्रणालीबाट टाढा रहेको यो गाउँमा टेबुलमा पैसा थुपारेर बाँड्नु रहर नभई भौगोलिक बाध्यता पनि हो । गाउँमा बैंक नहुनु र सदरमुकाम खाँदबारी पुग्न मात्रै दुई दिन लाग्ने विकटताका कारण किसानहरूले नगद नै बुझ्ने निर्णय गरेका हुन् । स्थानीय किसान भूपाल कुलुङका अनुसार धेरैजसोको बैंक खाता नभएको र बैंकसम्म पुग्ने सहज पहुँच नभएकै कारण समूहका अगुवाले सदरमुकामबाट नगद संकलन गरी गाउँमै ल्याएर सबैको अगाडि वितरण गरेका हुन् । यस वर्ष खर्च कटाएर प्रत्येक परिवारको भागमा २ लाख २५ हजार रुपैयाँ परेको छ, जुन उनीहरूका लागि केवल रकम मात्र नभएर सामूहिक एकताको प्रमाण पनि हो ।
सामुदायिक वनको जग्गा प्रयोग गरेबापत प्रतिकिलो ५ रुपैयाँ रोयल्टी बुझाउँदै आएका यी किसानहरूले व्यक्तिगत लाभ र राजनीतिक खिचातानीमा अल्झिएको समाजलाई ुमिलेर गर्दा के हुँदैनरुु भन्ने ठूलो पाठ सिकाएका छन् । सात वर्षअघिको एउटा सानो सोचले आज गोगने गाउँलाई केवल आर्थिक रूपमा मात्र बलियो बनाएको छैन, बरु समाज सुधार र आर्थिक समृद्धिको एउटा नयाँ र भरोसायोग्य नेपाली मोडल तयार गरिदिएको छ । पसिना र विश्वास मिसिँदा विकट भूगोलभित्र पनि कसरी सुन फलाउन सकिन्छ भन्ने यो एउटा अनुपम दृश्य हो ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।