विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता कायम भएका छन् ।
शनिबार निर्वाचन आयोगले मतदाता नामावली ऐन, २०७३ को दफा २० बमोजिम अन्तिम मतदाता नामावली प्रकाशन गरेको हो ।
आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने मतदाता नामावलीमा नाम दर्ता गराएका नेपालीले मतदानामा सहभागी हुन पाउनेछन् । अन्तिम मतदाता नामावलीमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र अन्य २०० गरी कुल १ करोड ८९ लाख ३ हजार ६८९ जना सुचिकृत छन् ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिअनुसार २०७९ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको तुलनामा २०८२ मा कुल मतदाता संख्या ९ लाख १५ हजार ११९ ले वृद्धि भएको छ । यसमध्ये पुरुष मतदाता ५ लाख २२ हजार ५५२, महिला मतदाता ३ लाख ९२ हजार ५५२ र अन्य मतदाता १५ ले बढेका छन् ।
मतदाताले आफ्नो नाम र विवरण निर्वाचन आयोगको वेबसाइटमार्फत हेर्न सक्नेछन् । आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि मतदानस्थल र मतदान केन्द्र पनि निर्धारण गरेको छ ।
आयोगका अनुसार देशभर १० हजार ९६७ मतदानस्थल तोकिएका छन् । स्थलमा कुल २३ हजार ११२ मतदान केन्द्र रहनेछन् । यो संख्या २०७९ को निर्वाचनको तुलनामा मतदानस्थल ७५ र मतदान केन्द्र ८८५ ले बढी हो ।
निर्वाचन आयोगले निर्धारित मितिअनुसार निर्वाचन तयारीका सबै प्रक्रिया अघि बढाइरहेको जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।