काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले राखेको सहमतिको प्रस्तावमा काठमाडौँ महानगरका मेयर बालेन्द्र साह (बालेन)ले असहमति राख्दा आज पनि सहमति जुट्न सकेन । आगामी फागुन २१ गते हुने निर्वाचनमा रास्वपासँग मिलेर जान बालेन सहमत भएपनि प्राविधिक विषयमा सहमति जुट्न नसकेको नेताहरुले बताउका छन् ।
सहमति जुटाउने प्रयास जारी रहेको दुवै नेताका निकटस्थहरूले बताएका छन्। शुक्रबार बिहानदेखि सहमतिको खाका बनाउन गठन गरिएको कार्यदल पटकपटक गरेको छलफल अन्तिम चरणमा पुगेपछि पूर्णता पाइनसकेको एक सदस्यले बताए। आगामी चुनावमा प्रधानमन्त्रीको उम्मेदवारका घोषणा गरेर जान रास्वपा तयार भए पनि अन्य प्राविधिक विषयमा एकमत बनाउन बाँकी रहेको ती सदस्यले बताए।
उनका अनुसार, सहमतिका केही बुँदासहित तयार पारिएको खाका रास्वपा सभापति रवि लामिछानेलाई दिइएको छ। उनले कार्यदललाई अगाडि बढ्न भने पनि मेयर बालेनले निर्णय दिइसकेका छैनन्। ‘आज ड्राफ्टमा अझै छलफल हुँदै छ। मेयर साबले ओके भनिसक्नु भएको छैन,’ कार्यदलमा रहेका एक सदस्यले भने, ‘मेयरसाब नगर सभाको बैठकमा हुँदा भोलि मात्रै सहमति हुन्छ जस्तो छ।’
कार्यदलमा रास्वपाको तर्फबाट नेता शिशिर खनाल र असिम शाह तथा बालेनका तर्फबाट कुमार ब्यञ्जनकार र भुपदेव शाह छन्। भुपदेव बालेनका स्वकीय सचिव हुन्।
– नेपालखबरबाट साभार




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।