लोड हुँदैछ...

मेनु

कोशीका मुख्यमन्त्री कार्कीले नेकपासँग संयुक्त सरकार बनाउने प्रस्ताव गरेकै हुन् ?

कोशीका मुख्यमन्त्री कार्कीले नेकपासँग संयुक्त सरकार बनाउने प्रस्ताव गरेकै हुन् ?

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाली कम्युनिष्ट पार्टीका कतिपय नेताहरुसँग संयुक्त सरकार बनाउने विषयमा कुराकानी गरेको खुलेको छ ।

एमालेको महाधिवेशन सम्पन्न भएपछि मुख्यमन्त्री कार्कीले यस्तो प्रस्ताव गरेको नेकपाका एक नेताले बताए । मुख्यमन्त्री कार्कीले भने आफूले केन्द्रमा तीन नेताहरुबीच छलफल सुरु भएको कारण यहाँ पनि सहमतिको सरकार बन्न सक्ने सम्भावना रहेको बताए ।

उनले नेपाली कांग्रेस र एमालेबीचको सहकार्य नटुट्ने प्रष्ट पारे । ‘राष्ट्रिय राजनीतिमा कांग्रेस र एमाले छुट्टिने अवस्था छैन र अहिलेको म्यान्डेट पनि त्यही हो,’ मुख्यमन्त्री कार्कीले भने, ‘माओवादीसहित सबै दलहरू मिलेर जानुपर्ने विषयमा माथिल्लो तहका नेताहरूबीच छलफल भइरहेको छ । प्रधानमन्त्री र राष्ट्रपतिसँगको छलफलपछि अबको राजनीतिक वातावरण थप प्रष्ट हुनसक्छ । वर्तमान व्यवस्थाको पक्षमा रहेका दलहरू एक ठाउँमा उभिने वातावरण बन्न सक्दा एउटा कुरा हो । तर, एमाले र कांग्रेसबीचको सहकार्य नै अहिलेको मुख्य आवश्यकता भएको र यसबाट पछि नहट्ने कुरा हुँदैन ।’

मन्त्रिपरिषद् पुनर्गठनको विषयमा कुरा भइरहेको र यो समय पनि भइसकेको तर औपचारिक रूपमा कुनै टुङ्गो नलागेको उनले बताए । नेपाली कांग्रेस र नेकपा एमाले दुवै दल अधिवेशनमा व्यस्त रहेकाले केही ढिलाइ हुन सक्ने उनको भनाइ छ । नेपाली कांग्रेसको अधिवेशनको विषयमा उनले भने, ‘कांग्रेसको अधिवेशन समयमै नहुने जस्तो देखिन्छ ।’ उनले कांग्रेसभित्र देखिएका केही विवादका कारण अधिवेशन पछि सर्न सक्ने सम्भावना रहेको पनि औंल्याए ।

उता, कोशी प्रदेश सरकार पुनर्गठनको किचलो उत्कर्षमा पुगेपछि मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सत्ता साझेदार नेपाली कांग्रेसलाई दबाबमा राख्न ‘नेकपा कार्ड’ अगाडि सारेको हुनसक्ने नेकपाकै नेता तथा सांसद गणेश उप्रेती सुशीलले बताए । ‘गठबन्धन भित्रको विवादमा हाम्रो पार्टीलाई मुछ्न खोजेको मात्रै जस्तो देखिन्छ । मुख्यमन्त्रीले गठबन्धनभित्रको विवादलाई विषयान्तर गर्न यो हल्ला गरेको हो । हाम्रो पार्टी सरकारमा जाने र एमालेसँग सहकार्य गर्ने विषयमा कुनै छलफल पनि गर्दैन,’ उप्रेतीले भने ।

भ्रष्टाचार र विभिन्न काण्डमा मुछिएका कांग्रेसका मन्त्रीहरूलाई हटाउन पार्टी नेतृत्वले अटेर गरेपछि मुख्यमन्त्री कार्कीले उनीहरूलाई साइजमा ल्याउने नयाँ राजनीतिक चाल चालेको उप्रेतीको दाबी छ । कांग्रेसले मन्त्री फेर्ने विषयमा ठोस निर्णय नदिँदा सरकारको छवि नै संकटमा परेको मुख्यमन्त्री कार्कीको निष्कर्ष छ ।

पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल एउटा घुसखोरी काण्डमा र उद्योग, कृषि तथा सहकारी मन्त्री खगेन सिंह हाङ्गाम कुटपिट तथा सचिवको गाडीको साँचो खोस्ने जस्ता अराजक काण्डमा मुछिएपछि उनीहरूलाई हटाउन कार्कीलाई दबाब छ ।

एमाले कोशी प्रदेशका इन्चार्जसमेत रहेका पार्टी सचिव शेरधन राईले पटकपटक तत्कालै कोशी सरकार पुनःगठन हुने बताइरहेका छन् । उनले त काँग्रेसले नमाने मुख्यमन्त्रीले आफ्नो कदम चाल्नुपर्नेमा दबाब दिएका छन् । चार महिनायता मन्त्री फेरबदलको कुराले कोशी प्रदेशको प्रशासनिक संयन्त्र समेत प्रभावित भएको छ भने सरकारको काममा ढिलासुस्ती सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds