विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी मोरङ निर्वाचन क्षेत्र नम्बर ६ ले उम्मेदवारहरूको नाम छनोट गरी जिल्ला समितिमा सिफारिस गरेको छ। निर्वाचन क्षेत्र अन्तर्गत रहेका केन्द्रीय सदस्य, पूर्व प्रदेश सदस्य, सल्लाहकार तथा स्थानीय तहका नेतृत्वको उपस्थितिमा बसेको बैठकले आकांक्षीहरूको नामावली टुंगो लगाएको हो।
नेकपाले देशभरका सबै निर्वाचन क्षेत्रबाट पुस ११ गतेभित्र उम्मेदवार सिफारिस गरिसक्न निर्देशन दिएको थियो। पुस १४ गतेभित्र समानुपातिक तर्फको अन्तिम सूची निर्वाचन आयोगमा बुझाइसक्नुपर्ने कार्यतालिका रहेकाले क्षेत्रले तीव्रताका साथ नाम सिफारिस गरेको हो।
बैठकमा मोरङ क्षेत्र नम्बर ६ बाट बहालवाला प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री जीवन आचार्यलाई उम्मेदवार बनाउनुपर्ने पक्षमा बलियो मत देखिएको थियो। यद्यपि, जनप्रतिनिधिलाई सिफारिस नगर्ने केन्द्रीय कमिटीको सर्कुलरका कारण क्षेत्रले एक ुविशेष प्रस्तावु पारित गर्दै आचार्यलाई उम्मेदवार बनाउन मापदण्ड सच्याउन केन्द्रलाई अनुरोध गरेको छ। यस्तै, मोरङ क्षेत्र नम्बर ४ बाट पटक–पटक निर्वाचित थारु समुदायका लोकप्रिय तथा युवा नेता अमनलाल मोदीको पनि यस क्षेत्रमा उच्च माग देखिएपछि उनको नाम पनि सिफारिस गरिएको छ। पार्टीले यसपटक युवा, महिला र ‘जेन्जी’ उमेर समूहका व्यक्तिहरूलाई समेत प्राथमिकतामा राखेर सिफारिस गरिएको जानकारी दिएको छ।
प्रत्यक्षतर्फ ५ जनाको मापदण्ड भए पनि ९ जनाको नाम सिफारिस गरिएको छ। प्रत्यक्षतर्फका उम्मेदवारहरूमा जीवन आचार्य, अमनलाल मोदी, उपेन्द्र राय, ओसिम आलम, हेम कार्की, सोनेलाल राजवंशी, मो.आलम प्रवेज, विनोद घिमिरे, अंकीता आले (जेन्जी), र साइमन रेग्मी रहेका छन् ।
त्यस्तै, समानुपातिकतर्फ ११ जनाको नाम सिफारिस गरिएको छ। जसमा सुशीला घिमिरे (सामना), सीता कडरिया, लक्ष्मी न्यौपाने (लता), रचना राई, तबसुम सिद्दिकी (मुस्लिम महिला), सुनिता चौधरी, म। कासीम मिया (मुस्लिम), पार्वती घिमिरे, कपिल सुनुवार (दलित), नौसाद प्रवेज (मुस्लिम), तुलसी सापकोटा, र गोविन्द उराव (अल्पसंख्यक आदिवासी) रहेका छन्। जिल्ला कमिटीले यी नामहरूमाथि छलफल गरी मापदण्डभित्र रहने गरी अन्तिम सिफारिस गर्नेछ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।