लोड हुँदैछ...

मेनु

राष्ट्रिय सभा सदस्य निर्वाचन २०८२ : तयारी र प्रावधानहरू

राष्ट्रिय सभा सदस्य निर्वाचन २०८२ : तयारी र प्रावधानहरू

विराटनगर । आगामी फागुन २० गते रिक्त हुन लागेको राष्ट्रिय सभाका १९ सदस्य पदका लागि निर्वाचन आयोगले आगामी माघ ११ गते निर्वाचन गर्ने गरी तयारी तीव्र पारेको छ। यस निर्वाचनलाई स्वच्छ, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न आयोगले ‘राष्ट्रिय सभा सदस्य निर्वाचन निर्देशिका, २०७६’ (छैटौँ संशोधनसहित) कार्यान्वयनमा ल्याएको छ।

निर्वाचनका लागि प्रत्येक प्रदेशमा एक निर्वाचक मण्डल रहनेछ, जसमा सम्बन्धित प्रदेश सभाका सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरू (गाउँपालिका अध्यक्ष–उपाध्यक्ष र नगरपालिका प्रमुख–उपप्रमुख) रहनेछन्। यस पटकको निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १९ कायम गरिएको छ।

राष्ट्रिय सभा सदस्यको उम्मेदवार हुन ३५ वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्नेछ। भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन, लागूऔषध र सम्पत्ति शुद्धीकरण जस्ता गम्भीर कसुरमा सजाय पाएका व्यक्ति उम्मेदवार हुन पाउने छैनन्। उम्मेदवारी दर्ताका लागि १० हजार रुपैयाँ धरौटी तोकिएको छ भने महिला, दलित, अल्पसङ्ख्यक वा विपन्न उम्मेदवारलाई ५० प्रतिशत छुट दिइनेछ। उम्मेदवारले चुनावमा अधिकतम ३ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउनेछन् र परिणाम घोषणाको ३० दिनभित्र खर्च विवरण बुझाउनुपर्नेछ।

आयोगले दुई फरक रङका मतपत्रको व्यवस्था गरेको छ । प्रदेश सभा सदस्यका लागि हरियो र स्थानीय तहका प्रतिनिधिको लागि रातो मसी प्रयोग गरिएको मतपत्र हुनेछ। मतदान हुनुभन्दा ४८ घण्टा अघिदेखि ‘मौन अवधि’ लागू हुनेछ, जसमा प्रचारप्रसार निषेध गरिएको छ। मतगणना गर्दा मतभारले गुणन गरी कुल मत निकालिनेछ र सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछन्। मत बराबर भएमा गोला प्रथाद्वारा निर्णय गरिनेछ।

संविधानको मर्म अनुसार प्रत्येक प्रदेशबाट महिला, दलित, अपाङ्गता भएका वा अल्पसङ्ख्यक र अन्य समूहको प्रतिनिधित्व सुनिश्चित गरिएको छ। निर्वाचनलाई भयरहित बनाउन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सुरक्षा व्यवस्था मिलाइनेछ। आयोगले सम्पूर्ण तयारी पूरा भएको जनाउँदै मतदातालाई निर्धक्क भई मताधिकार प्रयोग गर्न आह्वान गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds