लोड हुँदैछ...

मेनु

प्रतिनिधिसभा विघटनविरुद्ध हस्ताक्षर गर्ने पूर्व सांसदको संख्या बढ्दै, १५० बढीले हस्ताक्षर गर्न दाबी

प्रतिनिधिसभा विघटनविरुद्ध हस्ताक्षर गर्ने पूर्व सांसदको संख्या बढ्दै, १५० बढीले हस्ताक्षर गर्न दाबी

काठमाडौं । नेकपा एमालेको पहलमा प्रतिनिधिसभा विघटनका विरुद्धमा १५० बढी सांसदको हस्ताक्षर अदालतमा पुर्याउने कसरत जारी छ ।

एमालेले यसअघि ७५ जना विघटित सांसदको हस्ताक्षरसहित सर्वोच्चमा रिट दायर गरेको थियो । केही दिन अगाडि नेपाली काँग्रेसका ६५ विघटित सांसदको हस्ताक्षरसहितको निवेदन अदालतमा पुगिसकेको छ । उक्त निवेदनमाथिको सुनुवाई संवैधानिक इजलाशमा आजै सकिएको छ । आदेश भने हुन बाँकी छ।

विघटित प्रतिनिधि सभामा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले केही दिनमै थप सांसदको हस्ताक्षरसहित आफ्नो रिटमा पक्ष कायम गर्न निवेदन दिने बताए। थप हस्ताक्षर गर्ने सांसदहरुमा तत्कालिन एकीकृत समाजवादीका किसान श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ र लोकतान्त्रि समाजवादी पार्टी (लोसपा) का महन्थ ठाकुरसहितको हस्ताक्षर गराउन खोजेको एमालेले जनाएको छ । किसान र रञ्जिताले हस्ताक्षर गर्ने निश्चित भए पनि अन्य सांसदको भने पक्का भइसकेको छैन।

हाल किसान एमालेकै केन्द्रीय सदस्य समेत रहेकाले उनले हस्ताक्षर गर्ने जनाइएको छ। रञ्जिताले पनि आफू संसद् पुनर्स्थापनाका पक्षमा हस्ताक्षर गर्न तयार रहेको बताएकी छन्।

एमालेको तर्फबाट रिट निवेदक समेत रहेका बर्तौलाले नागरिक उन्मुक्ति र लोसपाका ८ जनालाई पनि संसद् पुनर्स्थापनाको पक्षमा उभ्याएर १५० बढी सांसदको निवेदन सर्वोच्च पुग्ने दाबी गरे । बर्तौलाले दुई–तीन दिनमै थप सांसदको निवेदन पठाउने दाबी गरेका छन्। यी निवेदक पनि सामेल हुने आदेश भए संसद् पुनर्स्थापनाको पक्षमा १४३ सांसदको हस्ताक्षर सर्वोच्चमा पुग्नेछ। प्रतिनिधि सभामा बहुमतका लागि १३८ सांसद आवश्यक पर्छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds