लोड हुँदैछ...

मेनु

राष्ट्रियसभा निर्वाचन : कोशीमा कसको मतभार कति ?

काँग्रेस–एमाले मिले अरुलाई भारी

काँग्रेस–एमाले मिले अरुलाई भारी

विराटनगर । नेकपा एमालेका सचिव तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा आफ्नो पार्टीले कोसँग सहकार्य गर्र्छ भन्ने कुरा अहिले नै भन्न नसकिने बताए ।

एमालेले मंगलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘अहिले नै हामी यो दलसँग हाम्रो सहकार्य हुन्छ र अर्को दलसँग हुँदैन भन्ने स्थितिमा हामी छैनौं । भोलि निर्वाचनको सन्दर्भमा कुनै पनि राजनीतिक दलसँग हाम्रो सहकार्य हुन सक्छ ।’

यद्यपि सहकार्य जेनजी आन्दोलन पछि विघटन भएका र तंग्रिन नसकेका पार्टीहरुसँग सहकार्य नहुने स्पष्ट पार्दै उनले नेपाली कम्युनिष्ट पार्टीसँग गठबन्धन हुने सम्भावना कम रहेको बताए । ‘अहिले नेपाली कम्युनिष्ट पार्टीसँग हामीले सहकार्य गर्ने स्थिति देख्दिनँ । किनभने भाद्र २३ र २४ पछाडि विघटन भएका, तंग्रिन नसकेका, उभिन नसकेका, यो परिस्थितिलाई थेग्न नसकेका समूहहरूसँग अहिले नै हामी काँध मिलाउँछौं भनेर भन्दैनौं,’ उनले भने ।

राष्ट्रिय सभाको निर्वाचनको तयारीमा दलहरु लागिसकेका छन् । माघ ११ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले पुस २३ गते उम्मेदवारको मनोनयनको मिति तोकेको छ । ५९ सदस्यीय राष्ट्रिय सभामा प्रत्येक दुई वर्षमा एक तिहाइ सदस्य नयाँ आउने व्यवस्था छ । जसअनुसार यस पटक निर्वाचनबाट १८ जना राष्ट्रियसभामा जानेछन् । १ जना भने राष्ट्रपतिबाट मनोनयन गर्ने कानूनी व्यवस्था छ । १८ पदका लागि हुने निर्वाचनमा कोशीमा दलिततर्फ एक जना, महिलातर्फ एक र अन्य समूहतर्फ एक जनाको निर्वाचन हुनेछ । दलित कोटाबाट कोशीबाट निर्वाचित माओवादीका गोपी अछामी, अन्य समूहबाट एमालेका देवेन्द्र दाहाल र महिला कोटाबाट निर्वाचित इन्दु गौतमको कार्यकाल सकिने छ । अछामी मोरङबाट र दाहाल र गौतम व्रmमशः झापा र सुनसरीका थिए ।

निर्वाचनको मिति नजिकिँदै गर्दा कांग्रेसले प्रदेशका सबैजसो जिल्लाहरूबाट आएका नामावलीलाई एकीकृत गरी केन्द्र्रमा पठाएको हो । जसमा राष्ट्रिय सभातर्फ कोशी प्रदेशको तीन पदमा १३१ जनाको नाम केन्द्रमा पठाएको कोशी प्रदेश काँग्रेसका मुख्य सचिव नारायण कोइरालाले जानकारी दिए । एमाले र नेपाली कम्युनिष्ट पार्टीले भने नाम सिफारिस गरिसकेका छैनन् ।

राष्ट्रियसभा निर्वाचनका लागि काँग्रेस र एमालेका नेताहरुबीच गठबन्धनका लागि भेटवार्ता चलिरहेको छ । नेपाली कम्युनिष्ट पार्टीका नेताहरुले पनि चुनावी गठबन्धनका लागि काँग्रेसँग छलफल चलिरहेको बताएका छन् । यद्यपि २०७८ साल माघ ११ गते सम्पन्न राष्ट्रियसभा निर्वाचनमा काँग्रेस, तत्कालिन माओवादी र नेकपा (एकीकृत समाजवादी)लगायतले गठबन्धन गरेका थिए भने एमाले र राप्रपाले अर्को गठबन्धन गरेका थिए । यद्यपि उक्त निर्वाचनमा काँग्रेस नेतृत्वको गठबन्धनले मत बढी हुँदा हुँदै पनि निर्वाचनमा पराजय व्यहोर्नु परेको थियो ।

निर्वाचन आयोगका अनुसार माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकेको छ । निर्वाचन कार्यतालिका अनुसार आगामी पुस २३ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको छ । पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २७ गते उम्मेदवारी फिर्ता लिने र सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । यस्तै पुस २८ गते निर्वाचन चिन्ह प्रदान गरिने आयोगले जनाएको छ ।

कोशी प्रदेशमा कसको कति मतभार ?

कोशीमा राष्ट्रियसभाका लागि ३ सय ६७ मतदाता छन् । तीमध्ये ९३ जना प्रदेशसभा सदस्य हुन् । प्रदेशसभा सदस्यको मतभार ५३ हो । स्थानीय तहका २७४ प्रमुख तथा उपप्रमुखको मतभार १९ हुन्छ । प्रदेश र स्थानीय गरेर एमालेको ४ हजार २१०, कांग्रेसको ३ हजार ६८४, माओवादी केन्द्र्रको १ हजार २९७, राप्रपाको ३९४, नेकपा एसको ३४५, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार रहेको छ ।

यद्यपि राष्ट्रियसभाको यसअघिका दुईवटा निर्वाचनमा दलहरबीच गठबन्धन भएपनि कोशी प्रदेशमा पूर्ण सफल हुन भने सकेको छैन । २०७८ साल माघ १२ गते भएको राष्ट्रियसभा निर्वाचनमा मत क्रस हुँदा तत्कालिन सत्ता गठबन्धन (काँग्रेस–माओवादी–नेकपा एस–जसपा)का उम्मेद्वार जसपाका हेमराज राईलाई पराजित गर्दै एमालेका सोनाम ग्याल्जेन शेर्पा विजयी भएका थिए । तर, त्यसबेला सत्ता गठबन्धनको मत र एमाले गठबन्धनको मतको अन्तर निक्कै कम थियो । त्यसबेला स्थानीय तहतर्फबाट गठबन्धनका २९ जनाले फ्लोर क्रस गरेर एमालेका शेर्पालाई मत दिएका थिए ।

यस्तै २०८० माघ ११ गते भएको राष्ट्रियसभा निर्वाचनमा रोचक हारजित भएको थियो । सत्तारुढ गठबन्धन (काँग्रेस–माओवादी– नेकपा एस)को मतभार बढी हुँदाहुँदै एमालेकी रुक्मिणी कोइराला विजयी भएकी थिइन् । गठबन्धनका अर्का उम्मेद्वार काँग्रेसका कृष्णप्रसाद सिटौलाले पनि आफ्नो गठबन्धनको सबै मत पाएका थिएनन् ।

सिटौलाले प्रदेशतर्फ ४५ सांसदको मत पाउँदा विपक्षी गठबन्धन (एमाले–राप्रपा)का उद्धव पौडेलले ४७ सांसदको मत पाए । यस्तै उम्मेदवारी निष्क्रिय बनाएपनि एमालेका पर्शुराम अधिकारीले १ जना सांसदको मत पाए । यसैगरी स्थानीय तहतर्फ सिटौलाले १५३ जनाको मत पाउँदा उद्धवले १०९ जनाको मात्रै मत पाएका थिए ।

उता, महिलातर्फको निर्वाचनमा भने सत्ता गठबन्धनकी उम्मेद्वार माओवादीकी चम्पा कार्कीलाई एमालेकी रुक्मिणी कोइरालाले पराजित गरेकी थिइन् । गठबन्धन गर्दा यसअघिका राष्ट्रियसभा निर्वाचनको परिणामले पहिलो र दोस्रो ठूला पार्टी काँग्रेस र एमालेले आफ्ना उम्मेद्वार सुरक्षित गर्न सफल भएका थिए भने तेस्रो दल माओवादी भने असुरक्षित बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds