काठमाडौं । फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण बनाउने समझदारी सरकार र प्रमुख तीन दलबीच भएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा मंगलबार अपरान्ह प्रधानमन्त्री सुुशीला कार्कीसहित प्रमुख तीन दलका शीर्ष नेताको छलफलमा यस्तो समझदारी भएको हो ।
कार्की प्रधानमन्त्री भएपछि पहिलो पटक शीर्ष नेताहरुसँग छलफल भएको हो । छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड सहभागी थिए ।
छलफलबाट निर्वाचनको वातावरण बनाउने समझदारी भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । त्यसका लागि चुनावको वातावरण बनाउन विस्तृत छलफल बालुवाटारमा गर्ने समझदारी पनि भएको उनले बताए । भेटमा प्रधानमन्त्री कार्कीले पनि विषम् परिस्थितिमा तोकिएकै समयमा निर्वाचन गराउन सबै दलले सहयोग गर्नुपर्ने बताएको पोखरेलले बताए ।
छलफलमा राष्ट्रपति पौडेलले देशको परिस्थिति गम्भीर र संवेदनशील भएको अवस्थामा निकास दिनका लागि चुनावको घोषणा भएको बताएका थिए । यो गम्भीरतालाई ध्यानमा राखेर निर्वाचन सफल बनाउन लाग्नु सबैको दायित्व भएको राष्ट्रपति पौडेलले छलफलमा बताएको पोखरेलले जानकारी दिए ।
राष्ट्रपति पौडेलले देशको वर्तमान जटिल अवस्थाको निकासका लागि निर्वाचन नै उपयुक्त विकल्प भएको बताएका थिए । उनले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन प्रधानमन्त्रीसहित मुख्य तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई आग्रह गरेका थिए ।
स्रोतका अनुसार छलफलमा एमाले अध्यक्ष ओलीले प्रमुख राजनीतिक दलका नेताहरूको सुरक्षाको विषय गम्भीर रहेको बताएका थिए । आफू र पूर्वगृहमन्त्री रमेश लेखकलाई स्थानहद तोक्ने तथा सुरक्षाको वातावरण नबनाउने कामले चुनाव हुन नसक्ने उनको भनाइ थियो ।
कांग्रेस सभापति देउवाले पनि शान्ति सुरक्षाको विषयलाई प्रमुखताका साथ उठाएका थिए । नेकपा संयोजक दाहालले सरकारले वातावरण बनाए दलहरू चुनावमा जान तयार रहेको भन्दै वातावरण बनाउने प्रमुख जिम्मेवारी सरकारलै भएको बताएका थिए ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।