काठमाडौँ । जेन्जी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि बोलाएको छ ।
आयोगले मंगलबार लेखकलाई पत्र काट्दै आगामी शुक्रबार उपस्थित हुन निर्देशन दिएको हो ।
गत भदौ २३ र २४ गते भएका घटनाका सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन गठित आयोगले राजनीतिक नेतृत्वको बयान लिने क्रममा लेखकलाई बोलाएको हो । आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले लेखकलाई शुक्रबारका लागि बयानमा उपस्थित हुन पत्र पठाइएको पुष्टि गरे । ‘उहाँलाई आगामी शुक्रबार बयानका लागि बोलाइएको छ,’आयोग स्रोतले भन्यो, ‘प्रशासनिक र सुरक्षा निकायका अधिकारीहरूसँगको बयान सकिएपछि अब राजनीतिक नेतृत्वको पालो आएको हो ।’
लेखकलाई पत्र काटिए पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने अहिले नै पत्र नपठाइएको अध्यक्ष कार्कीले जानकारी दिए । आयोगका अनुसार तत्कालीन गृहमन्त्री लेखकको बयान सकिएपछि मात्रै तत्कालीन प्रधानमन्त्री ओलीलाई पनि बयानका लागि बोलाउने तयारी छ ।
आयोगले यसअघि घटनासँग सम्बन्धित सुरक्षा निकायका प्रमुखहरू र प्रशासनिक अधिकारीहरूसँग सोधपुछ गरिसकेको छ ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।