लोड हुँदैछ...

मेनु

एमालेले माग्यो समानुपातिक उम्मेदवारको नाम

एमालेले माग्यो समानुपातिक उम्मेदवारको नाम

विराटनगर । आगामी निर्वाचनको सार्वजनिक रूपमा विरोध गर्दै आएको नेकपा (एमाले) ले आन्तरिक रूपमा भने निर्वाचन लक्षित कार्यक्रम गरीरहेको पाइएको छ । निर्वाचन आयोगले तोकेको समयसीमा नजिकिँदै गर्दा एमालेले देशभरका जिल्ला कमिटीहरूलाई समानुपातिक उम्मेदवारको नाम सिफारिस गर्न सर्कुलर (परिपत्र) पठाएको छ ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार आगामी पुस १३ र १४ गते प्रतिनिधि सभातर्फ समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने प्रावधान छ । सोही कार्यतालिकालाई मध्यनजर गर्दै एमालेले आफ्ना तल्लो कमिटीहरूलाई उम्मेदवारको नाम पठाउन निर्देशन दिएको हो ।

नेकपा एमाले मोरङका सचिव सोमराज थापाले केन्द्रबाट केही समयअघि नै परिपत्र आएको र अबको दुई दिनभित्र जिल्लाले प्रदेश कमिटीलाई नाम सिफारिस गरिसक्नुपर्ने जानकारी दिएका छन् । ‘आज र भोलिसम्ममा उम्मेदवारको नाम सिफारिस गर्न सर्कुलर आएको छ,’थापाले भने, ‘हामी सोही अनुसार तयारीमा छौँ ।’

एमालेका केन्द्रीय सदस्य नेता गोकुल बास्कोटाले पनि मंगलबार बिहान सामाजिक सञ्जालमार्फत पार्टीको यो भित्री तयारीबारे संकेत गरेका छन् । उनले लेखेका छन्, ‘चुनाव हुँदैन पनि भन्छन्, दलहरू फेरि आफैँ खुसुखुसु समानुपातिक सदस्यको नाम पनि बटुल्दै रहेछन् । कुन पत्याउनु हो ? लाखे ’ बाहिर राजनीतिक रूपमा निर्वाचनको विरोध गरे पनि भित्रभित्रै प्राविधिक तयारीमा एमाले जुटीसकेको नेताहरु बताउछन् ।

अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले घोषणा गरेको फागुन २१ गतेको निर्वाचन नहुने दाबी गर्दै सार्वजनिक सभाहरूमा यसको चर्को विरोध गर्दै आएका छन् । निर्वाचन आयोगले भने मंसिर २१ गतेदेखि नै निर्वाचन कार्यक्रम सुरु गरिसकेको छ ।
समानुपातिक प्रणालीतर्फ भाग लिनका लागि हालसम्म एक सय वटा राजनीतिक दलले निवेदन दिइसकेका छन् । पुस १३ र १४ गते दलहरूले उम्मेदवारको बन्दसूची बुझाउनुपर्ने अन्तिम समय भएकाले एमालेले पनि आफ्ना उम्मेदवारहरूको नामावली संकलनमा जुटेको हो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds