विराटनगर । आगामी २०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै कोशी प्रदेशका राजनीतिक दलहरू आ–आफ्नो उम्मेद्वार सिफारिसमा लागेको छन् । एकातिर आयोगले निर्वाचनको काउन्टडाउन सुरु गरेको छ भने अर्कोतिर प्रदेशका ठूला दलहरूमा उम्मेदवारका आकांक्षीहरूको व्यवस्थापन मुख्य चुनौती बनेको छ ।
निर्वाचनको तयारीमा नेपाली काँग्रेस कोशी प्रदेश सबैभन्दा अगाडि देखिएको छ । काँग्रेसले फागुन २१ को प्रतिनिधि सभा र माघ ११ को राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेशका सबैजसो जिल्लाबाट ४५४ जना आकांक्षीको नाम केन्द्रमा सिफारिस गरिसकेको छ ।
प्रदेश कार्यालयका मुख्य सचिव नारायण कोइरालाका अनुसार राष्ट्रिय सभाका ३ रिक्त पदका लागि १३१ जना र प्रतिनिधि सभाका २८ निर्वाचन क्षेत्रका लागि ३२३ जनाको नाम पठाइएको छ । झापा क्षेत्र नं. १ बाट महामन्त्री विश्वप्रकाश शर्माको नाम प्रत्यक्षतर्फ एकल सिफारिस भएको छ भने मोरङ, सुनसरी र इलाम जस्ता ठूला जिल्लाहरूबाट आकांक्षीहरूको बाक्लो सूची केन्द्र पुगेको छ ।
यद्यपि, काँग्रेसभित्र केही प्राविधिक समस्या पनि देखिएका छन् । खोटाङमा जिल्ला सभापति विष्णुकुमार राई अनुशासनको कारबाहीमा परेका कारण त्यहाँबाट कुनै पनि नाम सिफारिस हुन सकेको छैन । त्यस्तै, तेह्रथुमले नाम नपठाएपछि प्रदेश समितिले नै सीता गुरुङको नाम सिफारिस गरेको छ ।
नेकपा एमालेका कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले उम्मेद्वार छनौटको काम सक्न पार्टीलाई कुनै धेरै समय नलाग्ने बताए । ‘निर्वाचन हुन्छ जस्तो नै लागेको छैन । निर्वाचन हुने भयो भने हामी एक दुई दिनमै सबै टुंगो लगाउँछौं,’ खतिवडाले भने, ‘तर, अहिलेकै पाराले निर्वाचन होला जस्तो लाग्दैन ।’ उनले राष्ट्रियसभाको उम्मेद्वारको नामावली टुंग्याउन पनि कुनै समस्या नरहेको बताए । ‘जम्मा ३ जनाको नाम दिनलाई कुन ठूलो कुरा हो र ?,’ उनले भने ।
प्रदेशमा नेपाली कम्युनिष्ट पार्टीले पनि उम्मेद्वारहरुको सिफारिसलाई पुस ११ गतेभित्रमा सक्ने जनाएको छ । तत्कालिन माओवादीका अध्यक्षसमेत रहेका नेता हर्कबहादुर नेम्वाङ (मिक्सो)ले पार्टीले गरेको सर्कुलर अनुसार जेनजीहरुसहितका उम्मेद्वारको लिष्ट बनाउन लागेको बताए । ‘प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि जिल्लाले नै उम्मेद्वारहरु केन्द्रमा सिफारिस गर्छन्,’ नेम्वाङले भने, ‘राष्ट्रियसभाको उम्मेद्वारको लागि प्रदेश पार्टीले नाम टुंग्याएर पठाउँछ ।’
रास्वपा कोशी प्रदेशकी अध्यक्ष सरिन तामाङले आफ्नो पार्टीले प्रदेशस्तरबाट गर्नुपर्ने काम सबै गरिसकेको बताइन् । उनले भनिन्, ‘हामीले समानुपातिक तर्फको लिष्ट केन्द्रमा बुझाइसकेका छौं । प्रत्यक्षको लागि पनि छलफल सुरु भएको छ । समयमै हामी उम्मेद्वारहरुको सिफारिस गर्छौं ।’
निर्वाचन आयोगको कार्यतालिका अनुसार प्रत्यक्षतर्फ आगामी २०८२ माघ ६ गते मनोनयन दर्ता हुनेछ भने माघ ९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गरिनेछ । समानुपातिकतर्फ भने दलहरूले पुस १३ र १४ गते नै उम्मेदवारको बन्दसूची पेस गरिसक्नुपर्नेछ । फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ ।
कोशी प्रदेशका २८ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा आफ्नो वर्चस्व कायम गर्न दलहरूले युवा र पुराना पुस्ताको सन्तुलन मिलाउने प्रयास गरिरहेका छन् । काँग्रेसले नाम पठाएर दबाब सिर्जना गरे पनि एमाले, नेपाली कम्युनिष्ट पार्टी र रास्वपाले पनि आफ्नो आन्तरिक संयन्त्रमार्फत तयारीलाई अन्तिम रूप दिइरहेका छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।