विराटनगर । नेकपा (एमाले) का नेता ईश्वर पोखरेलले पार्टीभित्र सबै तहका नेता–कार्यकर्तासँग सम्मानजनक व्यवहार सुनिश्चित नभए त्यसका परिणाम अप्रिय र नोक्सानदायी हुन सक्ने चेतावनी दिएका छन्। नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनपछि विकसित घटनाक्रम र नेतृत्वको कार्यशैलीलाई लिएर उनले सामाजिक सञ्जालमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन्। महाधिवेशनमा अध्यक्ष पदका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका पोखरेलले महाधिवेशनपछि देखिएका विभिन्न प्रतिक्रिया र चर्चालाई लक्षित गर्दै अनावश्यक भ्रम र तरंग सिर्जना नगर्न पार्टी पंक्तिलाई आग्रह गरेका छन्।
नेता पोखरेलले महाधिवेशनबाट भएका संस्थागत निर्णयको पालना गर्नु सबैको कर्तव्य भएको स्पष्ट पारेका छन्। तर, निर्णयको पालनाका नाममा नेता–कार्यकर्ताबाट आत्मसमर्पणको अपेक्षा गर्नु गलत हुने उनको भनाइ छ। उनले स्पष्ट शब्दमा भनेका छन्, ‘सबैले आत्मसमर्पण होइन, आत्मसम्मान खोज्छन्, कसैलाई काखा र कसैलाई पाखा नगरियोस् भन्ने अपेक्षा गरेका हुन्छन्। त्यस्तो हुन नसक्दा असहमति वा विरोध हुनु स्वाभाविक हुने उनले उल्लेख गरेका छन्।
यसपटक नेतृत्व चयनमा सर्वसम्मति बन्न नसक्नुका पछाडि नेतृत्वबाट ठोस पहल नहुनु पनि एउटा कारण रहेको पोखरेलले औंल्याएका छन्। नेतृत्वमा रहेका खास खास व्यक्तिहरूलाई बिदा गर्ने पूर्व योजनाका कारण त यस्तो गरिएको होइन भन्ने गम्भीर प्रश्न धेरै महाधिवेशन प्रतिनिधिको मनमा उब्जिएको उनले संकेत गरेका छन्। विगतमा पार्टीभित्रको आन्तरिक विवादले एमालेले भोग्नुपरेका नकारात्मक र नोक्सानदायी परिणामको स्मरण गराउँदै उनले फेरि त्यस्तो दुर्भाग्यपूर्ण अध्याय दोहोरिन दिन नहुनेमा जोड दिएका छन्।
उनका अनुसार पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन विधि र प्रक्रिया अनुसार गरिएका संस्थागत निर्णयहरूको निशर्त पालना र कार्यकर्ताको स्वाभिमानको पक्षपोषण अनिवार्य छ। व्यवहारमा काखा–पाखा नगरिने सुनिश्चितता र विभाजनको दृढ विरोध नै अहिलेको आवश्यकता भएको पोखरेलको ठहर छ। उनले आग्रहप्रेरित कटाक्षले पार्टी र आन्दोलनलाई नोक्सान मात्र पुऱ्याउने भन्दै सबै नेता–कार्यकर्तालाई जिम्मेवार बन्न र अनावश्यक रूपमा तरंगित नहुन अपिल गरेका छन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।