लोड हुँदैछ...

मेनु

बाबुराम-जनार्दनको प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता कर्णद्वारा पार्टी परित्याग

बाबुराम-जनार्दनको प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता कर्णद्वारा पार्टी परित्याग

विराटनगर । माओवादी जनयुद्धदेखि पछिल्लो समयसम्म निरन्तर राजनीतिक सक्रियतामा रहेका विराटनगरका नेता तेजलाल कर्णले प्रगतिशील लोकतान्त्रिक पार्टी परित्याग गरेका छन् ।

कर्णले सामाजिक सन्जालमार्फत पार्टीकाे सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन् ।

नेपालमा गणतन्त्र, संघीयता र समावेशिता स्थापना गर्ने उद्देश्यसहित सञ्चालन भएको माओवादी आन्दोलनमा करिब १५ वर्ष आबद्ध रहेका नयाँ संविधान जारी भएसँगै डा. बाबुराम भट्टराईको नेतृत्वमा नयाँ शक्ति पार्टीमा आबद्ध भएका थिए । सो पार्टी गठनदेखि प्रगतिशील लोकतान्त्रिक पार्टी गठनसम्म केन्द्रीय नेतृत्वमा रहेर करिब १० वर्ष सक्रिय भूमिका निर्वाह गरेको उनले जनाएका छन् ।

हालको राजनीतिक परिस्थितिमा प्रगतिशील लोकतान्त्रिक पार्टीबाट देश र जनताको चाहना तथा आजको आवश्यकताअनुसार नेतृत्व सम्भव नरहेको निष्कर्षमा पुगेको उल्लेख गर्दै कर्णले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको जानकारी दिएका छन् । यद्यपि, डा. बाबुराम भट्टराईसहितको टिमसँग राजनीतिक सहकार्य अन्त्य भए पनि व्यक्तिगत सम्बन्ध र सहकार्य निरन्तर रहने उनले स्पष्ट पारेका छन् ।

माओवादी जनयुद्धका क्रममा भूमिगत जीवन बिताएका कर्णले जेल जीवनसमेत भोगेका थिए । बाबुराम भट्टराईले माओवादी परित्याग गरी नयाँ शक्ति पार्टी गठन गर्दा उनी सँगै रहेका थिए । नयाँ शक्ति पार्टी हुँदै समाजवादी पार्टी र पछिल्लो समय डा. भट्टराई तथा माओवादी छाडेका जनार्दन शर्मालगायतको पहलमा गठन भएको प्रगतिशील लोकतान्त्रिक पार्टीको केन्द्रीय नेतृत्वमा उनी सक्रिय थिए ।

लामो समय मजदुर आन्दोलनमा भूमिका खेलेका कर्णले आगामी राजनीतिक यात्राबारे निर्णय गरिनसकेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds