विराटनगर । नेपाली काँग्रेसका युवा नेता अभिषेक गिरीले विराटनगर महानगरपालिका समितिको सभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
शुक्रबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले आगामी १५औँ महाधिवेशन अन्तर्गत हुने नगर अधिवेशनमा सभापति पदका लागि आफ्नो उम्मेदवारी रहने औपचारिक जानकारी दिएका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै नेता गिरीले पार्टीको आगामी महाधिवेशनलाई एउटा उत्सवका रूपमा सफल बनाउन सबैलाई आग्रह गरे । उनले भने, ‘हुन गइरहेको यो १५औँ महाधिवेशनलाई सफल बनाउन सबैजनाले आफ्नो क्षेत्र र ठाउँबाट लागेर सहयोग गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।’
आफ्नो उम्मेदवारीको औचित्य पुष्टि गर्दै उनले पार्टीका सम्पूर्ण तहका नेता–कार्यकर्ताको साथ पाउनेमा आफू ढुक्क रहेको बताए । उनले उनले, ‘नेपाली काँग्रेसको नगर सभापतिमा मैले जुन उम्मेदवारी दिएको छु, यसका लागि काँग्रेसमा आस्था राख्ने क्रियाशील सदस्यहरू, नेताहरू, हाम्रा अभिभावक गार्जियन हरू, दाजुभाइ तथा दिदीबहिनीहरूले मलाई पूर्ण सहयोग गर्नुहुनेछ भन्ने मेरो दृढ विश्वास छ ।’
उनले सबैको साथ र समर्थनले आफूलाई पार्टी संगठन सुदृढीकरणमा लाग्न थप उर्जा मिल्ने समेत विश्वास व्यक्त गरे । पछिल्लो समय युवा नेता अभिषेक गिरी फाउन्डेसन मार्फत सामाजिक कार्य पनि गर्दै आएका छन् ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।