विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी २१ फागुनमै निर्वाचन हुनैपर्ने बताएका छन् ।
प्रजातन्त्रको मूल आधार नै निर्वाचन भएकाले कांग्रेस पार्टी निर्वाचनमा जान पूर्ण रूपमा तयार रहेको कोइरालाले बताए ।
मोरङको सुन्दरहरैँचा नगरपालिका–४ मा शुक्रबार स्थानीय नेताहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै डा. कोइरालाले संविधान जोगाउन र मुलुकलाई संक्रमणबाट बचाउन निर्वाचन अपरिहार्य रहेको बताए ।
‘संविधान बचाउने र देशलाई संक्रमणबाट जोगाउने उपाय भनेकै निर्वाचन हो,’ उनले भने, ‘हामी त निर्वाचनको मिति कुरेर बसेका छौँ ।’
कोइरालालर सरकारको तयारी हेर्दा निर्वाचन हुन्छ कि हुँदैन भन्ने आशंका पनि जन्मिएको बताए । सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको आरोप लगाउँदै उनले सुरक्षा अवस्था र राजनीतिक गतिविधिमाथिको प्रतिबन्धप्रति प्रश्न उठाएका छन् ।
‘केही दलका नेताहरूलाई काठमाडौं बाहिर जान दिइएको छैन, लुटिएका हतियार अझै फिर्ता भएका छैनन्, कैदीहरू बाहिरै छन्,’ उनले भने, ‘यी विषयमा सरकारले के सोचिरहेको छ ?’ कोइरालाले पार्टी पंक्तिलाई निर्वाचनका लागि अहिले नै जुट्न निर्देशन दिँदै लोकतन्त्र र जनअधिकारको रक्षा गर्न कांग्रेसले अग्रसर भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरे ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।