धरान । नेकपा एमाले भोजपुरका युवा नेता ध्रुवराज राईले एमाले परित्याग गर्दै हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् ।
एमाले कोशी प्रदेश कमिटी सदस्य रहेका राई भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका पूर्वअध्यक्षसमेत हुन् । उनी एमालेको महाधिवेशन चलिरहेको बेला श्रम संस्कृति पार्टीमा प्रवेश गरेका हुन् ।
राईलाई पार्टी अध्यक्ष हर्क साम्पाङले धरानमा आयोजित कार्यक्रममा टीका लगाएर स्वागत गरेका थिए । एमालेले पछिल्लो समय जनताको भावना, श्रम र स्वाभिमानको पक्षमा काम गर्न छाडेकोले पार्टी छाडेको राईले बताए । कुर्सी र सत्ताका लागि राजावादीदेखि कांग्रेससम्म जोसँग पनि मिल्ने एमालेको प्रवृत्ति अस्वीकार्य रहेको उनको भनाइ छ ।
‘चिया पसलमा जाँदा एमालेको आलोचना गर्ने जनता भेटिन्छन् । म प्रदेश कमिटी सदस्य हुँ, पूर्वपालिका अध्यक्ष हुँ भन्न पनि लाज लाग्ने अवस्था आयो,’ उनले भने, ‘जनताले विश्वास गुमाइसकेको पार्टीमा बस्नुभन्दा इमानदार, मजदुर र श्रमजीवीको पार्टीमा आउनु उचित ठानेँ ।’ केपी ओली जस्तालाई नेता मानेर हिँडेकोले हर्क साम्पाङलाई नेता मान्न समस्या नरहेको उनको भनाइ छ ।
एमालेको अहिलेको नेतृत्वले कार्यकर्ता र जनताको भावना विपरीत काम गरेकाले पार्टी छाड्न बाध्य भएको राईको भनाइ छ । राई भोजपुर बहुमुखी क्याम्पसका दुई कार्यकाल स्ववियु सभापति भएका थिए । अखिलको केन्द्रीय सचिवालय सदस्य हुँदै केन्द्रीय उपाध्यक्षमा प्रतिस्पर्धा गरेका उनलाई भोजपुरमा ‘आन्दोलनको छोरा’ र ‘ध्रुवे हात्ती’ का नामले चिन्ने गरिएको थियो ।
२०७४ मा गाउँपालिका अध्यक्ष भएका उनी २०७९ को निर्वाचनमा भने कांग्रेसका सरोज बस्नेतसँग पराजित भएका थिए । एमालेको भ्रातृ संस्था लोकतान्त्रिक किरात राई संघका कोशी प्रदेश अध्यक्ष तथा एमाले भोजपुरका पूर्व उपाध्यक्षसमेत रहेका राईको पार्टी परित्यागलाई एमाले भोजपुरका लागि ठूलो राजनीतिक धक्का मानिएको छ ।
राईले आगामी प्रतिनिधिसभा निर्वाचनमा भोजपुरबाट ‘माटो’ चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् । भोजपुरका एमाले नेता शेरधन राईसँग उनी प्रतिस्पर्धामा उत्रनेछन् ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।