विराटनगर । नेकपा (एमाले) निकट बुद्धिजीवी तथा पार्टीको कोशी प्रदेश कमिटीका सल्लाहकार टीकाराम पुरीले पार्टी परित्याग गरेका छन् ।
लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय पुरीले ‘व्यवहारिक तथा पारिवारिक’ कारण देखाउँदै पार्टीका सबै जिम्मेवारी र साधारण सदस्यता समेत नरहने गरी राजीनामा दिएका हुन् ।
विराटनगर–५ निवासी पुरीले एमाले कोशी प्रदेश कमिटीका अध्यक्षलाई सम्बोधन गर्दै आफ्नो राजीनामा बुझाएका हुन् । उनले बुझाएको राजीनामा पत्रमा आफू अब उप्रान्त पार्टीको कुनै पनि तहमा नरहने उल्लेख गरेका छन् ।
पुरीले आफ्नो राजनीतिक यात्रा वि.सं. २०३३ सालमा तत्कालीन नेकपा (माले)मार्फत सुरु गरेका थिए । वि.सं. २०४७ सालमा नेकपा (एमाले) को सक्रिय सदस्यता प्राप्त गरेका उनले विभिन्न कमिटीहरूमा रहेर महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन् । हाल उनी कोशी प्रदेश कमिटीको सल्लाहकारको भूमिकामा थिए ।
पुरी विराटनगस्थित एभरेष्ट स्कूलका सञ्चालक हुन् । उनी यसअघि निजी तथा आवासीय विद्यालयको संगठन प्याब्सनको केन्द्रीय अध्यक्ष भइसकेका छन् ।
पुरीले आफ्नो राजीनामा पत्रको बोधार्थ एमाले मोरङ जिल्ला कमिटीलाई समेत पठाएका छन् । पछिल्लो समयमा एमाले परित्याग गरेर नयाँ पार्टीमा प्रवेश गर्ने लहर चलेको बेला पुरीको राजीनामा आएको हो ।
पुरी पछिल्लो सयय राजनीतिक नेतृत्वको आलोचना गर्थे । दलका नेताले राजनीतिलाई पेसा बनाएका कारण भ्रष्टाचार मौलाएको दाबी गर्दै उनले राजनीतिमा लागेका मानिस उत्पादनमूलक पेसा व्यवसायमा जोडिनुपर्ने बहस चलाइरहेका थिए ।
‘पार्टीमा धरै वर्ष लागेर योगदान गरियो, एमालेले अहिलेको अवस्थामा अहिलेकै शैली र ढंगले देशमा परिवर्तन गर्नसक्छ भन्ने विश्वास रहेन,’ उनले भने, ‘ गुम्सिएर बस्न सकिएन, पत्यिाग गरेँ, अब नयाँ ढंगले अगाडि बढ्न सकिन्छ ।’







प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।