लोड हुँदैछ...

मेनु

तीन दिनमा ३० अंक बढेको नेप्से बिहीबार १० अंकले घट्यो

तीन दिनमा ३० अंक बढेको नेप्से बिहीबार १० अंकले घट्यो

विराटनगर । बिहीबार सेयर बजार परिसूचक नेप्से घटेर बन्द भएको छ । निरन्तर तीन कारोबार दिन सामान्य अंकले उकालो लागेको बजार बिहीबार भने ओरालो लागेको हो ।

अघिल्ला तीन कारोबार दिनमा नेप्से जम्मा ३० अंक बढेकोमा बिहीबार १०.६६ अंकले घटेर २६१५.०३ विन्दुमा झरेको छ । यस दिन सेन्सेटिभ इण्डेक्स १.६३ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.७० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४१ अंकले घटेको छ ।

नेप्से परिसूचक घटेपनि यस दिन कारोबार रकम भने बढेको देखिएको छ । बिहीबारको बजारमा कारोबारमा आएका २५९ कम्पनीका १ करोड १२ लाख ९१ हजार ४०१ कित्ता सेयर ४ अर्ब ५७ करोड ७८ लाख रुपैयाँ बराबरमा किनबेच भएका छन् । अघिल्लो कारोबार दिन बुधबार ४ अर्ब ५ करोड ३७ लाख २० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

यस दिन दुई कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ । स्वस्तिक लघुवित्त वित्तीय संस्था र एसवाई प्यानल नेपालको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, सिन्धु विकास बैंकको सेयर मूल्य ९.५६ प्रतिशतभन्दा धेरैले बढेको छ । यता, बाराही हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ४.७६ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा बिहीबार बाराही हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २४ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, राधी विद्युत कम्पनीको १८ करोड ३५ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ भने बुटवल पावर कम्पनीको करिब १६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बजारका १३ उपसमूहमध्ये बिहीबार ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ । यस दिन व्यापार, निर्जीवन बीमा र होटल उपसमूहको परिसूचक सामान्य बढेको छ । वित्त र अन्य उपसमूहको परिसूचक भने १ प्रतिशतभन्दा धेरैले घटेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।